देवचुली । देवचुली नगरपालिकामा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली नगरपालिका न्यायिक समिति अन्तर्गत रहेका मेलमिलापकर्ताहरुलाई तिन दिनको पुनर्ताजगी तालिम शनिबारबाट सुरु गरिएको हो ।
देवचुली नगरपालिकाका १७ वडामा ५१ जना मेलमिलापकर्ताहरु रहेका छन् । मेलमिलापकर्ताहरुलाई वडामा आएका विवादका उजुरीहरु,विवाद समाधान गर्न खोज्दा भएका समस्याहरु, कानुनी उपचारका लागि मेलमिलापकर्ताको भुमिका,विवाद समाधान कसरी गर्ने लगायतका विषयमा तालिमका सहजीकरण गरिने नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक पार्वता तिवारीले बताउनुभयो । नगरका सम्पूर्ण विकास निर्माणका काम तथा गतिविधिहरु र त्यसमा आएका विवादहरुमा सहजिकरण गरि विवाद समाधानमा सहयोग गर्न नगर उप प्रमुख पार्वता तिवारीले मेलमिलापकर्तालाई आग्रह गर्नुभएको थियो ।
देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको अध्यक्षतामा भएको तालिम उदघाटन सत्रमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो । तिनदिनसम्म संचालन हुने तालिमको मेलमिलाप सहजकर्ता शान्ति बिक र देवचुली नगरपालिकाका कानुनी सल्लाहकार गणेश सापकोटाले सहजीकरण गर्ने जनाइएको छ।
तालिमको उदघाटनमा देवचुली ९ का वडा अध्यक्ष तथा न्यायिक समिति सदस्य बलिराम सापकोटाको स्वागत मन्तव्य राख्नुभएको थियो भने न्यायिक समिती सचिवालय सचिव निर्मला कंडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
स्थानीय तहमा देखिएका विवादलाई स्थानीय स्तरबाटै समाधानका लागि संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले गरेको व्यवस्थालाइ कार्यान्वयन गर्न , समाजमा शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि मेलमिलापकर्ताको व्यवस्था गरिएको छ ।