देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा फरक क्षमता भएका व्यक्तिहरुलाई बीउ पूँजी वितरण गरिएको छ। देवचुली नगरपालिका वडा नम्बर ११ को अपांगता भएका व्यक्तिहरुलाई बीउ पुँजी वितरण कार्यक्रम अन्तर्गत आथिक वर्ष २०८०/०८१ मा विनियोजित साठी हजार रुपैयाँबाट आइतबार बीउ पुँजीका रुपमा बाख्रा वितरण गरिएको हो।
वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई बीउ पुँजीका रुपमा बाख्रा वितरण गरिएको देवचुली ११ का वडा अध्यक्ष तथा नगर प्रवक्ता तिलप्रसाद काफ्लेले जानकारी दिनुभयो । बहुमुखी अपाङ्ग स्वालम्बन समूह देवचुली ११ ले छनोट गरेको ६ जनालाई बीउ पुँजीका रुपमा बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो ।
देवचुली ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा भएको बीउ पुँजी वितरण कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु बेलिमाया पुलामी, दुर्गा चापागाई, बहुमुखी अपाङ्ग स्वालम्बन समूह देवचुली ११ का अध्यक्ष भोलानाथ धिताल, बहुमुखी अपाङ्ग स्वालम्बन समूह देवचुली ११ का कार्य समिति, अपांगता भएका व्यक्तिहरु र उनीहरुको परिवारलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले अपांगता भएका व्यक्तिहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउनका लागि नगरपालिका सदैव अभिभावक बनेर अगाडि बढ्ने कुरामा जोड दिनुभयो । बीउ पुँजी स्वरुप दिएका बाख्राबाट आयआर्जन गरि दैनिक घर खर्च चलाउन सक्ने बन्नका लागि सबैलाई शुभकामना समेत दिनुभएको थियो। सो कार्यक्रमको सहजीकरण वडा सदस्य डम्बर सिंजालीले गर्नुभएको थियो ।