देवचुली। देवचुली नगरपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह आयोजनामा आजदेखि देवचुली ७ को सेन्टर प्लट खेल मैदान रामबासमा प्रतियोगिता सुरु गरिएको हो।
नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता भएको उदघाटन खेलमा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि उदघाटन खेलमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा,नगर प्रवक्ता तिलप्रसाद काफ्ले,जिल्ला खेलकुद विकास समितिका सचिव गिरिराज गौतम,विभिन्न वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले युवाहरुको खेलप्रतिको लगावलाई मध्यनजर गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने अवसर प्रदान गर्ने र वडाभन्दा माथिल्ला स्तरका प्रतिष्पर्धाका लागि उत्कृष्ट खेलाडी पहिचान गर्दै नगरस्तरीय फुटबल टिम निर्माण गर्न प्रतियोगिता उपयोगी हुने बताउनुभयो ।
नगरपालिकाले खेलकुदको प्रवर्द्धनका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा खेलकुद विकास समितिका अध्यक्ष सुरज सोतीको स्वागत रहेको उदघाटन खेलको सहजीकरण नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो।
आज भएको उदघाटन खेलमा देवचुली १ ले देवचुली ८ लाई ५-१ गोल अन्तरले विजयी भएको हो। देवचुली १ विजयसँगै दोस्रो चरण प्रवेश गरेको छ। देवचुली १ बाट रोशन गुरौंले ३ गोल,निशान थनेत र सनसाइन मल्लले १/१ गोल गरेका थिए भने देवचुली ८ बाट टिकाप्रसाद लुंगेली मगरले १ गोल गरेका थिए ।
देवचुली नगरपालिका भित्रका १६ वडाका १७ टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ का अध्यक्ष सुरज सोतीले बताए।प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल देवचुली ९ का विरुद्ध देवचुली १० र दोस्रो खेल देवचुली ३ का विरुद्ध देवचुली १५ बिच हुने आयोजकले जनाएको छ।