आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

तोरी बालीमा झुसिलकिराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

    प्रकाशित २०८० पौष २६, बिहिबार (१० महिना अघि)


ज्ञानु पंगेनी,नवलपुर । नवलपुरमा तोरी बालीमा झुसिलकिराको प्रकोप देखिएको छ ।विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा झुसिल किराको प्रकोप बढी देखिएको छ । पाक्न ठिक्क परेको तोरी बाली झुसिलकिराले सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् । सर्दी क्षेत्रमा मात्रै करिब ५० बिगाहा क्षेत्रफलमा लगाएको तारी बाली झुसिल किराले सखाप पारेको स्थानीय अगुवा यादव पौडेलले जानकारी दिनुभयो । सर्दीका बालकृष्ण पौडेलको डेढ बिगाहा क्षेत्रफलमा लगाएको तोरी झुसिलकिराले सखाप पारेको गुनासो गर्नुभयो । ‘हामी किसानले केही गरेनी सुख नहुने भयो । यसपालि तोरी निकै राम्रो भएको थियो । तर कोसा जति सबै झुसिल किराले सखाप पारेर खाएको छ । यसपालि तोरी भित्राउन नपर्ला जस्तो छ ।’ पौडेलले भन्नुभयो ।

अर्का किसान जयलाल खनालले पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले खाएर सखाप पारेको गुनासो गर्नुभएको छ । एउटै बोटमा चारपाँच वटासम्म झुसिल किरा बसेर रातभरिमा सबै सखाप पार्ने गरेको उहाँले बताउनुभयो ।यस्तै गरि पदम पंगेनीको एक बिगाहा , कृष्ण पंगेनीको पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले सखाप पारेको गुनासो गर्नुभएको छ । ‘स्याहार्ने बेलामा तोरी जति सबै झुसिल किराले भ्यायो ,हामीलाई क्षतिपुर्ती कसले दिन्छ ? महँगो तेल किनेर खान पर्ने भयो । ’ पदम पंगेनले भन्नुभयो ।

यी किसान त प्रतिनिधि पत्र मात्रै हुन सर्दी क्षेत्रका सबैजसो किसानले लगाएको तोरीमा झुसिल किराको प्रकोप देखिएको स्थानीय अगुवा यादव पौडेलको भनाई छ । कृषि शाखामा सल्लाह गरेर किरा मार्ने विषादी राख्दा पनि किरा नमरेको पौडेलले बताउनुभयो ।कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीका अनुसार यस वर्ष जिल्लाका विभिन्न ठाउँमा झुसिल किराको प्रकोप देखिएको छ । विषेश गरि तोरी बालीमा झुसिल किराले नोक्सान पुर्‍याएको गुनासो किसानहरूबाट आएको तिवारीले बताउनुभयो ।

विनयी त्रिवेणीको सर्दी क्षेत्रमा झुसिल किराको प्रकोप अलि बढी देखिएको छ भने , जिल्लाको समथर भूभागमा पर्ने कावासोती , मध्यविन्दु , गैंडाकोट र देवचुली नगरपालिकामा पनि झुसिल किराको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । किराले पात समेत सखाप पारे खाएको छ भने , कोसामा समेत नोकसान पुर्याएको छ । गेडामा प्वाल पारेको तिवारीले बताउनुभयो ।यस वर्ष हिउँदमा लामो समय खडेरी परेका कारण किराको प्रकोप देखिएको कार्यलय प्रमुख तिवारीको भनाइ छ । कृषिबालीमा विभिन्न प्रकारका रोग किरा देखिनुमा मुख्य कारण जलवायु परिवर्तन रहेको तिवारी बताउनुहुन्छ । यस वर्ष तोरी बाली राम्रो भएको थियो । उत्पादन राम्रो हुने अनुमान गरिएको थियो । तर पाक्ने बेलामा किराले नोक्सान पुर्‍याएको तिवारीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी विश्वास काफ्लेका अनुसार यसपलीको हिउँदे बालीमा झुसिलकिराको प्रकोप देखिएको बताउनुभयो । गुनासो आएपछि ज्ञान केन्द्रबाट अनुगमन समेत गरेर सुरक्षित सुरुमा इमामेक्टिन बेन्जोयट क्लोरोफाइरिफोस र साइपरमेथ्रिन नामक विषादी छर्न सुझाव दिएको जनकारी दिनुभयो । किराको प्रकोप अनुसार यस वर्ष तोरी बालीको उत्पादन अनुमानित रुपमा १० प्रतिशतले घट्न सक्ने काफ्लेको भनाई छ ।

Write your Comment