देवचुली। समृद्ध सदस्य निर्माणका लागि उत्कृष्ट साकोस भन्ने उद्धेश्यका साथ मध्य नेपाल साकोसद्वारा उप समितिहरुको क्षमता विकास तालिम सम्पन्न गरिएको छ । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुधबार तालिम संचालन गरिएको हो । मध्य नेपाल साकोसका संचालक समिति, लेखा सुपरिवेक्षण समितिहरुको उपस्थिति सहित सम्पुर्ण उप समितीहरुलाई तालिम संचालन गरिएको संस्थाले जनाएको छ।
क्षमता विकास तालिममा सहकारी ऐन नियम, कानूनी परिपालना र समिति तथा उपसमितिहरुको काम कर्तव्य र अधिकार , संस्थाको नितिगत विषय प्रति जानकार हुने, संस्थामा बसेर सदस्यको हितमा रहेर कसरी काम गर्ने, सदस्यलाई संस्था प्रतिको वित्तिय तथा गैरवित्तिय विषयहरु कसरी प्रदान गर्ने, नेतृत्वमा रहेर कसरी आफ्नो जिम्मेवार वहन गर्ने जस्ता विभिन्न विषयमा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीले प्रशिक्षण गर्नुभएको थियो ।
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।तालिममा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संक्षिप्त रुपमा बित्तिय विवरण सहित संस्थाको परिचय दिनुभएको थियो ।
औपचारिक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तुलमणी पौडेलले संस्थालाई थप अगाडि बढाउन सम्पुर्ण उपसमितिहरु क्षमतावान हुनुपर्ने भएकोले आगामी दिनमा पनि क्षमता विकास सम्बन्धि तालिमहरु संचालन गर्ने उद्देश्य रहेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष प्रेमा खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो । नवप्रगती सेवाकेन्द्रको सभाहल, प्रगतिनगरमा संचालन भएको उपसमितिहरुको क्षमता विकास तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।