देवचुली। देवचुली नगरपालिकामा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा अन्तर्गत देवचुली १५ मा इकाइगत साधारण सभा सम्पन्न गरेको छ। पुस १२ गते देवचुली १२ बाट सुरु गरेको इकाइगत साधारण सभा अन्तर्गत बुधबार देवचुली १५ मा कार्यक्रम गरिएको हो।संस्थाले देवचुली १०,११,१२,१३,१४ र १५ मा इकाइगत साधारण सभा सम्पन्न गरेको छ।
८१ जना महिलाहरुको पहलमा वि.सं. २०५६ सालमा स्थापना गरिएको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउन लागेको हो।रजत जयन्तीको अवसरमा संस्थाले पुस १२ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ।
संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट र भावी कार्ययोजना साधारण सभामा प्रस्तुत गर्नुभएको थियो ।वडागत रुपमा आएका सुझावहरुलाई समेट्नका सहज हुने भएकाले इकाइ साधारण सभा गरेको उहाँले बताउनुभयो । २१ बुँदामा रहेको भावी कार्य योजनाहरुलाई सभाले पास गरेपछी संस्थालाई काम गर्ने बाटो खुल्नेछ। संस्थाले सहकारी विकास लेखा तथा व्यवस्थापन तालिम, सहकारी शिक्षा र स्वास्थ्य शिविर संचालन, उद्यमशिलता, नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम संचालन,हिंसा न्यूनीकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम,शेयर सदस्य वृद्धि गर्ने, संस्थाको शाखा विस्तार, मसला बेसार उद्योग स्थापना, कृषि व्यापार प्रवद्धन सम्बन्धी तालिम लगायतका कार्ययोजना उहाँले सुनाउनुभएको थियो।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिको संयोजक शान्ति चापागाईले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको २०८० असार मसान्तसम्म ४८ लाख १८ हजार रुपैयाँ नाफा रहेको जानकारी गराउनुभएको थियो। उहाँले संस्थाका कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्थापन गर्नुपर्ने,शेयर सदस्य अन्तरक्रिया कार्यक्रम राख्नुपर्ने,बहुउद्देश्य अनुसार संस्थाद्वारा कार्यक्रम हुनुपर्ने लगायतका सुझावहरु प्रतिवेदन मार्फत व्यक्त गर्नुभएको थियो।
संस्थाको अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली १५ का वडा अध्यक्ष सुरेश रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्य फुलमाया विश्वकर्मा,देवचुली १५ का वडा सदस्य माया सुबेदी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
महिलाहरुको नेतृत्वमा संचालन भएको सहकारीले बचत गर्दै आय आर्जन हुने उद्यम संचालनका गर्नुपर्ने देवचुली १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाटले बताउनुभयो। शेयर सदस्यहरुलाई सबैको माग अनुसार संस्थालाई हित हुने गरि काम गर्न उहाँले आग्रह गर्नुभयो । संस्थालाई २५ औं वार्षिकोत्सब मनाउन लागेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य फुलमाया विश्वकर्मा,संस्थाको पुर्व कोषाध्यक्ष शेषकान्ती सापकोटा, भागिरथी आमा समुहका अध्यक्ष कृष्णादेवी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गंगा गौडेल भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।सो कार्यक्रमको सहजीकरण संस्थाका गिता भुसाल (न्यौपाने)ले गर्नुभएको थियो ।संस्थाले पुस १९ गते रक्तदान कार्यक्रम गर्ने जनाएको छ।