देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा संचालित २९ औं जिल्ला स्तरीय खुला पुरुष तथा पाचौं महिला भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली गाउँपालिका र महिलातर्फ देवचुली नगरपालिकाले जितेको छ। पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा सोमबार घुमाउरी खेल मैदानमा भएको पुरुष तर्फको फाइनल खेलमा बौदीकालीले मध्यबिन्दुलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो भने महिला तर्फ देवचुलीले पृथ्वी माध्यमिक विद्यालयलाई हराउँदै उपाधि जितेको हो ।
प्रतियोगितामा पुरुषतर्फ नवलपुरका सात पालिकाका १/१ वटा टिम र आयोजकको १ टिम गरि ८ टिमको लिग चरणको आधारमा खेल संचालन भएको थियो भने महिला तर्फ नवलपुर जिल्लाका ७ वटा पालिकाका १० वटा टिमबीच नक आउटका आधारमा प्रतिष्पर्धा भएको थियो। प्रतियोगितामा पुरुषतर्फ देवचुली नगरपालिका तेस्रो भएको छ भने महिला तर्फ कावासोती नगरपालिका तेस्रो भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने बौदीकाली गाउँपालिकाले नगद ७५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता मध्यबिन्दु नगरपालिकाले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।त्यसै प्रतियोगितामा तृतीय हुने देवचुली नगरपालिकाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।
प्रतियोगितामा महिलातर्फ प्रथम हुने देवचुली नगरपालिकाले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता हुने पृथ्वी माध्यमिक विद्यालयले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।त्यसै प्रतियोगितामा तृतीय हुने कावासोती नगरपालिकाले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। प्रतियोगितामा पुरुषतर्फ बौदीकालीका अशोक श्रेष्ठ र महिलातर्फ देवचुलीका प्रियंका राना उत्कृष्ट खेलाडी घोषित हुँदै नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको बिजेताहरुलाई देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले पुरस्कार वितरण गर्नुभएको थियो।
युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा नगर प्रवक्ता,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।