आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुलीको बाह्रकोल र बेलस्वाराका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

    प्रकाशित २०८० पौष १६, सोमबार (१० महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ बाह्रकोल र बेलस्वाराका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालद्वारा सीमान्तकृत र विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामाग्रीहरु देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो।

बाह्रकोलमा अवस्थित प्रभात जनता आधारभुत विद्यालय र बेलस्वारामा अवस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ६० जना बालबालिकाहरुलाई झोला,कापी, पेन, ज्यामिति बक्स, पेन्सिल वितरण गरिएको हो ।


प्रभात जनता विद्यालयमा बाल कक्षा व्यवस्थापनको लागि विभिन्न खेल र अध्ययन सामाग्रीहरु हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महसचिव दिपक शर्माले बताउनुभयो ।संस्थाले नेपाल हिल्फे बिटिकम, किन्डर इन नेपालसँगको साझेदारीमा विगत ४ बर्षदेखि देवचुली नगरपालिकाको पहाडी क्षेत्रमा बालबालिकालाई शिक्षा हासिलको लागि सहज पहुँच होस भनि आयआर्जन कार्यक्रम संचालन गरेको छ। आयआर्जन कार्यक्रमबाट शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका महासचिव शर्माले बताउनुभयो ।संस्थाले परिवारको सबलीकरणको लागि सीमान्तकृत र विपन्न परिवारलाई बाख्रा, बाख्रापालन सम्बन्धी तालीम, समुह व्यवस्थापन, नेतृत्व विकास र वित्तीय साक्षरता तालिम समेत सन्चालन गर्दै आएको छ ।

पहाडी क्षेत्रमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आयआर्जन कार्यक्रमले सहयोग पुर्‍याएको र निरन्तरताको अपेक्षा सहित नगरले पनि अल्पसंख्यक, सीमान्तकृत र पछाडी परेको क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित भौतिक विकासलाई प्राथमिकता राखेको देवचुली नगरपालिकाका प्रमुख हरि न्यौपानेले बताउनु भयो ।बालबालिकाको पहिलो अधिकार शिक्षा हासिल गर्ने रहेकोले संस्थाले सहयोग गरेको सामाग्रीको सदुपयोग गरि अब्बल विद्यार्थीको रूपमा प्रतिष्पर्धामा गर्न सक्ने हुनुपर्ने बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताउनुभयो । बालमैत्री नगर भएकोले कोही पनि बालबालिका विद्यालय भन्दा बाहिर नरहेको र केही कारणले बाहिर भए नगरमा खबर गर्न र अभियानकर्मीलाई जानकारी दिन पनि उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ति मगरले मगर भाषामा नै सम्बोधन गर्दै आयआर्जन र शैक्षिक गुणस्तरलाई संस्थाले गरेको सहयोगको सदुपयोग गर्न र जिम्मेवार नागरिकको रूपमा रहि काम गर्न अनुरोध गर्नुभयो ।शैक्षिक सामाग्रीहरुले साना साना बालबालिका र परिवारको सबलिकरणको लागि गरिएको सहयोगले गाउँमा नै बस्न र गाउँको विद्यालयप्रति अभिभावकहरुको चासो बढाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर सोमैले बताउनु भयो । संस्थाले शिक्षकहरु,व्यवस्थापन समितिलाई तालिम र शैक्षिक सामाग्रीले विद्यालयको शैक्षिक गुणस्तर बढाउनमा जिम्मेवारी थपिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा शैक्षिक सामाग्री प्राप्त गर्ने बालबालिकाहरुको अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, जनप्रतिनिधिहरु, टोल सुधार समिति र जागृति बाल तथा युवा सरोकार नेपालका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Write your Comment