देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा २९ औं जिल्ला स्तरीय खुला पुरुष तथा ६ औं महिला भलिबल प्रतियोगितामा देवचुली नगरपालिकाले विजयी सुरुवात गरेको छ। पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा बुधबार घुमाउरी खेल मैदानमा भएको प्रतियोगिता अन्तर्गत देवचुलीका विरुद्ध गैंडाकोटबीचको खेलमा देवचुलीले सोझो सेटमा गैंडाकोटलाई हराउँदै विजयी सुरुवात गरेको हो। पुरुषतर्फ नवलपुरका आठ पालिकाका १/१ वटा टिम र आयोजकको १ टिम गरि ९ टिमको लिग चरणको आधारमा खेल संचालन हुने साथै महिला तर्फ नवलपुर जिल्लाका ८ वटा पालिकाका १२ वटा टिमबीच नक आउटका आधारमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।
प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।प्रतियोगिताको बिहिबार पुरुषतर्फ गैंडाकोटका विरुद्ध बुलिङटार,कावासोतीका विरुद्ध हुप्सेकोट,विनयी त्रिवेणीका विरुद्ध देवचुली,मध्यबिन्दुका विरुद्ध बौदीकालीबीच खेल हुने आयोजक युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए।