आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

गैंडाकोटबाट हिँडेरै बुटवल पुगे रवि

    प्रकाशित २०८० पौष ११, बुधबार (११ महिना अघि)


नवलपुर।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गैंडाकोटबाट पैदल हिँडेरै बुटवल पुगेका छन् । रवि नेतृत्वको टोलीले सोमबार बिहान १० बजे गैंडाकोटबाट थालेको दबाबमूलक पैदलयात्रा थालेको थियो । टोलीले पहिलोदिन सोमबार ४१ किलोमिटर पैदलयात्रा गर्दै डण्डा बजारमा बास बसेको थियो भने दोस्रो दिन मंगलबार ३४ किलोमिटर पैदल यात्रा गरी बर्दघाटमा पुगेर बास बसेका थिए । त्यसैगरी आज बुधबार बर्दघाटबाट ३८ किलोमिटर हिँडेर बुटवल पुगेका हुन् । दबाबमूलक पैदल यात्रालाई समापन गर्दै सभापति लामिछानेले जनतालाई धुलो खुवाउने नेतालाई जनताले धुलो चटाउने बताए । `जसले जनतालाई सधैं धुलो खुवाउँछ । ती नेतालाई जनताले धुलो चटाउने छन् ।´, लामिछानेले भने ।

नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले गैँडाकोटको भृकुटीचोकदेखि बुटवलसम्म दबाब यात्रा गरेको हो ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो सडकखण्ड स्तरोन्नतिमा अस्वाभाविक ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदलयात्रा गरेको हो । २०७५ साल माघमा यो सडक खण्डका लागि सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षमा सकिनुपर्ने सडकमा पाँच वर्ष पूरा हुन लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ ।निर्माण कम्पनीले काममा ढिलाइ हुनुमा कोरोना कहर र निर्माण सामग्री अभावलगायतका कारण देखाउने गरेको थियो । अहिले भने कामले तीव्रता लिएको र २०८१ साल पुस मसान्तसम्ममा सकिने दाबी ठेकेदार कम्पनीले गर्दै आएको छ ।

३ वर्षमा सकिनुपर्ने काम अवधि सकिएर म्याद थप हुँदा पनि आधा प्रगति नहुँदा जनताको दैनिकी, व्यापार व्यवसाय, सवारीसाधन, यातायात व्यवसाय सबैले कष्टकर जीवन भोग्नुपरेकोले सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा गरिएको सभापति लामिछानेले बताए ।तीन दिन लगाएर टोलीले गैंडाकोटदेखि बुटवलसम्म ११३ किलोमिटर दूरी पार गरेको हो । टोलीलाई बाटोमा हजारौं शुभेच्छुक र पार्टी प्रतिनिधिले फूलमालाले स्वागत गरेका थिए । टोलीमा पार्टी सभापति लामिछानेसहित उपसभापति डोलप्रसाद अर्याल, सांसद हरि ढकाल, निशा डाँगी, केन्द्रीय सदस्य मनिष झा, राजन गौतम, दीपक बोहरालगायत थिए ।

Write your Comment