कावासोती।कावासोती नगरपालिका वडा नम्बर ५ मा हिंसा रोकथाम र न्यूनीकरणमा आमा समुह तथा टोल विकास संस्थाको भुमिकाको बारेमा छलफलगरिएको छ ।जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत कावासोति ५ भित्रका विभिन्न आमा समुह तथा टोल विकास संस्थाका पदाधिकारीहरुसहितको उपस्थितिमा छलफल र अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिकले हिंसाका प्रकारहरु, हिंसा हुने कारणहरु, हिंसाका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथि हुने हिंसाको अवस्था र त्यसको तथ्यांकको बारेमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले सहजीकरण गर्ने क्रममा हिंसा न्यूनीकरणका लागि गरिएका प्रयासहरु, हिंसा रोकथाम तथा न्यूनीकरणमा आमा समुह, महिला समूह तथा टोल विकास संस्थाका सदस्यहरुको भुमिका, हिंसा, दुर्व्यवहार भएमा कुन कुन निकायहरुमा समन्वय सम्पर्क गर्न सकिने जानकारी दिनु भएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिका वडा नं ५ का कार्यपालिका सदस्य पार्वती भण्डारी, वडा सदस्यहरु राज कुमार थापा, लाल बहादुर पुलामी मगर, ममता विश्वकर्मा, वडा भित्रका विभिन्न आमा समुह, महिला समूह र टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईले प्रहरी र अन्य निकायसँग समन्वय गरेर हिंसा अन्त्यको विभिन्न समुदाय स्तर र विद्यालयमा सचेतना मुलक कार्यक्रमहरु गरेको बताउनु भएको थियो ।
कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका विभिन्न गतिविधि र अभियानहरुको बारेमा जानकारी दिनु भएको थियो ।कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलनको सहयोग तथा नवलपुर किशोरी संजाल,सामुदायिक सेवा केन्द्र नवलपुर र कावासोती ५ को सहकार्यमा गरिएको हो ।