आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

गैंडा संरक्षणका लागि माघ २७ गतेदेखि फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८० पौष ८, आईतबार (११ महिना अघि)


नवलपुर । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २७ गते शनिवार देखि सुरु हुने भएको छ ।राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप खेलमैदानमा हुनेछ । फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।

विगत २ दशक पुरानो राइनो कप फुटबल प्रतियोगिताको परिस्कृत र परिमार्जित अवधारणाको राष्ट्रिय स्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालबाट सञ्चालन गरिए पनि कोरोना महामारीमा स्थगित भएको थियो।संरक्षक संस्था नन्द–भाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमले उपाधिका लागि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले ५ देखि १० लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्नुहुँदै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को सहयोग रहने बताउनुभयो। उहाँले आफू यस क्षेत्रको स्थानिय समेत रहेकाले प्रतियोगितालाई स्थानिय कै नजरले हेर्ने बताउनुभयो।

त्यस्तै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले स्थानिय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो कपको निरन्तरता र विकासका लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले खेलकुद शिक्षासँग जोडिएको विषय भएकाले यसको विकासका लागि तिनैतहका सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो।

Write your Comment