देवचुली। देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धि तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा देवचुली ६ किर्तीपुरमा तालिम गरिएको हो।
शनिबारबाट सुरु गरिएको तालिमको आज एक कार्यक्रम गरि समापन गरिएको छ। देवचुली नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मीनबहादुर सोती मगरको अध्यक्षता भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले आय आर्जन र उद्यमशिलता प्रवर्द्धन गर्नका लागि होमस्टे एउटा सशक्त माध्यम हुन सक्ने बताउनु भयो । स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा देवचुलीको पर्यटकीय गन्तव्यको रुपमा रहेको देवचुली डाँडाको प्रवर्द्धनलाई होमस्टे संचालनले सहयोग पुग्ने उहाँले बताउनुभयो । होमस्टे संचालनका लागि स्थानीयले चासो दिनुपर्ने र आवश्यक सहयोगका लागि नगरपालिकाले प्राथमिकता दिने उहाँले बताउनुभयो । देवचुली ६ का वडा अध्यक्ष मीनबहादुर सोतीले होमस्टे संचालन गर्न वडा, नगर तथा सम्बन्धित निकायबाट सक्दो सहयोग गर्ने र यसको लागि स्थानीय सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।
तीन दिनसम्म संचालित तालिमको सहजीकरण होमस्टे महासंघको केन्द्रिय सदस्य चुडामण पौडेल र होमस्टे महासंघ गण्डकी प्रदेशका अध्यक्ष धनिराम गुरौले गर्नु भएको थियो । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
उक्त कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। समापन कार्यक्रमको संचालन देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले गर्नुभएको थियो ।