आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा शैक्षिक गुणस्तर अभिवृद्धि र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण

    प्रकाशित २०८० मंसिर ३०, शनिबार (११ महिना अघि)


देवचुली। देवचुली १६ बाह्रकोलमा शैक्षिक गुणस्तर अभिवृद्धि र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा देवचुली नगरपालिकाको शिक्षा शाखाको समन्वयमा शुक्रबार प्रभात जनता आधारभूत विद्यालयमा कार्यक्रम गरिएको हो ।


देवचुली नगरपालिकाको दुर्गम गाउँ बाह्रकोल र बेलस्वारामा रहेका प्रभात जनता आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सरोकारवालाले गर्नुपर्ने कामका विषयमा छ्लफल गर्न,बालबालिकालाई निरन्तर विद्यालयमा ल्याउन गर्नुपर्ने कार्यहरु र बालबालिकाका सवालमा देखिएका समस्याहरुलाई समाधानमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा बताए।संस्थाले बाह्रकोल र बेलस्वाराका २० विपन्न परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत २ वटा बाख्राको पाठी दिइएको र सोबाट भएको आयबाट बालबालिकाको पढाईमा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको शर्माले बताए । `कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट टाढा नरहुन भन्ने हो,दुर्गम गाउँका बालबालिकालाई सबैले बढी चासो दिएर लगानी गर्नुपर्दछ।´शर्माले भने।

कार्यक्रमको सहजीकरण गर्दै देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले शिक्षक,विद्यार्थी र अभिभावक मिलि शैक्षिक सुधार ल्याउन सकिने बताए । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक,विद्यालय व्यवस्थापन समिती,शिक्षक अभिभावक संघ र अभिभावकले गर्नुपर्ने कामका बारेमा उनले बताएका थिए ।विद्यालय सुधारका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। ` विद्यार्थीलाई विद्यालय आउने वातावरण सिर्जना गर्न शिक्षकको भुमिका रहन्छ,आफुले पढाउने बिषयको राम्रोसँग तयारी गरि विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाउनु पर्ने आवश्यकता छ´ उनले भने ।


कार्यक्रममा दुवै विद्यालयका बालबालिकाका सवालहरुमा दिपक शर्मा र राजु चापागाईले सहजीकरण गरेका थिए। अधिकांश जनजाति समुदायका बालबालिका रहेको बाह्रकोल,बेलस्वारामा मातृभाषा बोल्ने बालबालिका हुँदा नेपाली तथा अंग्रेजी भाषामा समस्या भएको,कक्षा ८ पढाइ सकेपछि उच्च शिक्षाका लागि अन्य ठाउँमा जानुपर्ने भएकाले बालबालिका अभिभावकको संरक्षण नहुँदा समस्या देखिएको,पर्याप्त शैक्षिक सामग्री नहुँदा पठन क्रियाकलापमा समस्या भएको,अभिभावकहरुमा शैक्षिक जागरणको कमी भएको,श्रब्यदृश्यको माध्यमबाट पढाउने व्यवस्था गर्न नसकिएको,अभिभावकमा चेतनाको कमी भएको लगायतका सवालहरु छ्लफलमा आएका थिए। छ्लफलमा सहभागी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक र विद्यार्थीहरुले दुर्गम गाउँका विद्यालयहरुमा कक्षा ८ सम्मै दिवा खाजाको व्यवस्था गर्नका लागि नगरपालिकामा माग गरेका थिए।

प्रभात जनता आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर सोमैले सरोकारवाला पक्षसँग यसरी छ्लफल गर्दा निकै प्रभावकारी हुने आफुलाई लागेको बताए । ` विद्यालय सुधारका लागि सबै जना लाग्नुपर्ने रहेछ,आज आफैले शिक्षा पाए´ उनले भने ` अब शैक्षिक गुणस्तर वृद्धिका लागि योजना बद्ध काम गरिन्छ।´

प्रभात जनता आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै देवचुली १६ का वडा सदस्य रामबहादुर सोमै, सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारी,प्रधानाध्यापक ,शिक्षक,प्रभात जनता आधारभूत विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी,प्रधानाध्यापक ,शिक्षक ,विद्यार्थी लगायत आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

शुक्रबार बिहान प्रभात जनता आधारभूत विद्यालयका अभिभावक हरुलाई अभिभावक शिक्षा कार्यक्रम गरिएको थियो। शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले अभिभावकले आफ्ना बालबालिकालाई गर्नुपर्ने कार्य,विद्यालयमा ध्यान दिनुपर्ने कुराहरु लगायत विद्यालयको शैक्षिक गुणस्तरका लागि पालिकाले सो विद्यालयमा गरिरहेको कामका बारेमा जानकारी गराउनुभएको थियो।

Write your Comment