देवचुली । देवचुलीमा देउसी भैलोमा उठेको रकमबाट खानेपानीको धारा निर्माण गरिएको छ। देवचुली ८ आँपटारीमा रहेको मिलिजुली देउसी भैलो समूहले तिहारमा देउसी भैलो खेलेर उठेको रकमले धारा निर्माण गरेको हो। समूहले नमुना महिला सामुदायिक वन उपभोक्ता संस्था र जनचेतना सामुदायिक वन उपभोक्ता संस्थाका उपभोक्ताहरुलाई जंगलमा झाडी सफाई, घाँस दाउरा गर्न जाँदा पिउने पानीको लागि धारा निर्माण गरिएको समुहका संयोजक बल बहादुर फेवाली मगरले जानकारी दिए।
करिब ६० हजार लागतमा निर्माण गरिएको धाराको बुधबार समुदघाटन गरिएको छ। सो धाराको देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।धारा निर्माणका लागि नमुना महिला सामुदायिक वन उपभोक्ता समिति देवचुली ७, ८ र ९ बाट १ सय ६० जनाको श्रमदान, धाराडी खानेपानी तथा सरसफाई उपभोक्ता समिति देवचुली ६ बाट निःशुल्क पिउने पानी , प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट १५० मिटरको पाइप सहित होडिङ्ग बोर्ड, दियो जनसेवा क्लब देवचुली ८ बाट धारा फिटिङ्ग सामाग्री र देउसी भैलोमा समुदायका व्यक्तिहरुबाट संकलन भएको आर्थिक सहयोगबाट धारा निर्माण गरिएको मिलिजुली देउसी भैलो समूहका संयोजक बल बहादुर फेवाली मगरले बताए ।
कार्यक्रममा मिलिजुली देउसी भैलो समूहका संयोजक बल बहादुर फेवाली मगरको अध्यक्षता भएको कार्यक्रममा देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा,देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा,प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल,धाराडी खानेपानीका अध्यक्ष जयराम श्रेष्ठ,नमूना महिला सामुदायिक वनका सचिव रिलकुमारी तामाङ ,देवचुली ८ र ९ का वडा सदस्यहरु,क्लबका प्रतिनिधि ,टोल सुधार समितिका प्रतिनिधि लगायतको स्थानीयको उपस्थिति रहेको थियो।
समूहले देउसी भैलोबाट उठेको रकमलाई सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेको भन्दै देवचुली ८ का वडा अध्यक्ष नुन प्रसाद बाचेले मिलिजुली देउसी भैलो समुहको प्रशंसा गरेका थिए । अरुका लागि समेत सकारात्मक सन्देश दिने कार्यलाई सदैव निरन्तरता दिन समेत उहाँले आग्रह गरेका थिए। `सामुदायिक वनमा आउने उपभोक्ताहरुलाई अब घरबाट पानी बोकेर आउनुपर्ने बाध्यता हटेको छ´उनले भने।
कार्यक्रममा दियो जनसेवा युवा क्लबका अध्यक्ष बुद्धि फाल, देवचुली ९ का पूर्व वडा सदस्य रिल कुमारी तामाङ, धाराडी खानेपानीका अध्यक्ष जयराम श्रेष्ठ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल,देवचुली ७ का वडा अध्यक्ष भुमिसरा थापा,देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा लगायतले मिलिजुली देउसी भैलो समूहले गरेको कार्यको प्रशंसा गरेका थिए।
समुदघाटन कार्यक्रमको सहजीकरण कमल बाचेले गरेका थिए भने देवचुली ९ का पूर्व वडाध्यक्ष मेखबहादुर सारु मगरले स्वागत मन्तव्य राखेका थिए ।