देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि देवचुली १७ पहेँलोले जितेको छ।हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा देवचुली १७ पहेँलोले देवचुली १० लाई हराउँदै उपाधि जित्न सफल भएको हो।
फाइनल खेलमा देवचुली १७ पहेँलोले देवचुली १० लाई ३-० गोल अन्तरले पराजित गरेको हो।खेलमा देवचुली १७ पहेँलोका तर्फबाट विडारी लाल तामाङ ,विष्णु आले र सालिकराम पन्जियारले १/१ गोल गरेका थिए । फाइनल खेलमा देवचुली १७ पहेँलोका विडारीलाल तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए।
प्रतियोगितामा बिजेता देवचुली १७ पहेँलोले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता देवचुली १० ले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगितामा देवचुली १० का टंकबहादुर राना उत्कृष्ट खेलाडी,देवचुली १७ पहेँलोका प्रकाश हमाल सर्वाधिक गोलकर्ता र देवचुली १६ का कृष्ण न्यौपाने उत्कृष्ट गोलरक्षक भएका थिए।
फाराम खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर तामाङको अध्यक्षता भएको समापन खेलमा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर,देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल,देवचुली १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाट,देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम,देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, सेन्टर कलेजका प्रमुख यज्ञ विलास पौडेल ,रोडा ढुंगा क्रसर व्यवसायी संघका प्रतिनिधि ,सहयोगी संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थितिमा समापन खेल भएको थियो।