आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

बौदीकाली गाउँपालिकाको लगानीमा सडक कालोपत्रे

    प्रकाशित २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)


नवलपुर।बौदीकाली गाउँपालिकाले आफ्नै लगानीमा सडक कालोपत्रे गरेको छ । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा पहिलो पटक स्थानीय सरकारको लगानीमा सडक कालोपत्रे भएको हो । १ करोड २५ लाख लागतमा धनञ्जय ईन्जिनियरिङ प्रालिले सम्झौताभन्दा अगाडि नै निर्माण कार्य सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा मा ठेक्का लागेको यो सडक करिब ७३० मिटरको रहेको छ । पालिकाको वडा नम्बर २ सिंहटारीचोक देखि बौदीकाली २ डेढगाउँको वडा कार्यालयसम्मको सडक हालसालै सम्पन्न भएको हो । सोही सडक अन्तर्गत वडा कार्यालय देखि गाउँपालिका कार्यालय सम्म सडक ठेक्का प्रक्रियामा रहेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश ओझाले आफ्नो लगानीमा गाउँपालिकाले एक परियोजनाको रूपमा यो सडक निर्माण गरेको भन्दै सडकले बौदीकाली गाउँपालिका कच्ची सडकको युगबाट कालोपत्रे सडक युगमा प्रवेश गरेको बताए । सडकका अतिरिक्त दूध, तरकारी, फलफुल, मासु, पर्यटन र पूर्वाधार विकासमा पनि गाउँपालिका अघि बढेको बताउँदै उनले भने, ‘प्रत्येक सडक बौदीकाली बासि साथै गाउँपालिकाको समृद्धिसँग जोडिएको हुनाले गाउँपालीकाले अन्य वडामा पनि सडक कालोपत्रे सग‌ै सडक स्तरउन्नतीको काम अगाडि बढाएक‍ो छ ।

यो सँगै पालिकाको अन्य वडा बौदिकाली १ मिथुकरममा पनि सडक स्तरउन्नती साथै ढलान कार्य निर्माणमा रहेको छ । बौदीकाली गाउँपालिका भौगोलिक रूपले २ भागमा विभाजित रहेको र तल्लो भागलाई कालिगण्डकी करिडोरले सम्बोधन गरेको हुनाले गाउँपालिका अध्यक्ष ओझाले माथिल्लो भेगको लागि बौदिकाली ५ बबक हुँदै बौदिकाली ६ नरमबाट बौदीकाली ४ रूचाङ सम्मको सडक यहि बर्षमा नै स्तरउन्नति गरिने बताए। आधा जनसंख्याको लाइफलाइन रहेको सो सडक निर्माणमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरे।

यो सडक स्तरउन्नति भएसंगै पालिकाका अन्य सडकखण्ड पनि स्तरउन्नति र कालाेपत्रेकाे काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा डेढगाउँ रिङरोड अन्तर्गत नाली निर्माणसँग‌ै स्तरउन्नति कार्य चलिरहेको छ । गण्डकी प्रदेश सरकारको नै सहयोगमा बौदिकाली १ मिथुकरम देखि बौदिकाली ६ नरम सम्म यहि बर्ष काम सुरू हुने साथै एक निर्वाचन क्षेत्र एक रणनीतिक मार्गको अवधारणा अन्तर्गत बौदिकाली २ डेढगाउँ देखि बौदिकाली १ मिथुकरम सम्म सडक कालोपत्रे गर्ने गरि सडक निर्माणमा रहेको साथै गण्डकी प्रदेशको गौरवको आयोजना अन्तर्गतको डेढगाउँ झ्यालबास अन्तर्गतको पहिलो खण्डको काम डेढगाउँ देखि रूचाङसम्म निर्माणमा रहको छ ।

Write your Comment