देवचुली। नेपालको उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तिहारमा समेत निरन्तर सेवा दिने भएको छ। पानी चुहावट भएमा वा उपभोक्ताको धारामा पानी नआएमा त्यसलाई मर्मत गर्नका लागि प्राविधिक सेवा निरन्तर जारी राखेको हो।
खानेपानी अत्यावश्यक सेवा भएकाले चाडपर्वमा समेत कर्मचारीहरुलाई आलोपालो गरि प्राविधिक सेवा जारी राखेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो। उपभोक्ताहरुलाई २४ सैं घण्टा पानी र २४ सैं घण्टा सेवा दिने गरि कर्मचारी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उपभोक्ताहरुले कतै पानीको चुहावट देखेमा वा धारामा पानी नआएमा खबर गर्न समेत उहाँले आग्रह गर्नुभयो।तिहारको बिदामा प्रशासनिक सेवा तथा महसुल काउन्टरको सेवा भने बन्द रहने संस्थाले जनाएको छ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले दशैंको बिदामा समेत प्राविधिक सेवा निरन्तर दिएको थियो। तिहारको बिदामा कार्तिक २५ गतेदेखि ३० गतेसम्म कर्मचारीलाई आलोपालो कार्य विभाजन गरेको छ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ५२ सय धारामार्फत देवचुली नगरपालिकाको आधा जनसंख्याका लागि खानेपानी वितरण गरेको छ । संस्थाले देउसत खोलाको मुहानको पानीसँगै ५ वटा बोरिङबाट निरन्तर खानेपानी प्रवाह गर्दै आइरहेको छ । देवचुली नगरपालिकामा ५८ हजार जनसंख्या रहेको छ भने प्रगतिनगर खानेपानीका उपभोक्ता ३० हजार छन् ।