आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

गौतम बुद्ध क्रिकेट रङ्गशालाको निर्माण अघि बढ्ने

    प्रकाशित २०८० कार्तिक २२, बुधबार (१ साल अघि)


चितवन । गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ।भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिच यससम्बन्धी सहमति भएको हो। अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ।बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो।

भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ।मैदानको आकार मात्रै बनेको भन्दै उनले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिए। खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापन लगायतका काम यसै चरणमा हुने उनले बताए। यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिए।आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौता मार्फत् काम अघि बढाइने बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने उल्लेख गरिन्।यसअघि धुर्मुस–सुन्तली फाउण्डेशनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने उनले बताइन्।

उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई सहज रुपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको उनको भनाइ थियो। तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उनले बताए।

भरतपुर महानगरपालिका–१५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ।धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउण्डेसनले २० बिघा छ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रङ्गशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो।

फाउण्डेसनले रङ्गशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।रङ्गशाला निर्माणमा हालसम्म फाउण्डेशनले ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ। त्यसमध्ये १८ करोड ४३ लाख ऋण छ।फाउण्डेशनले बक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो। रासस

Write your Comment