आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नवलपुरको बोझापोखरी सबस्टेसन सञ्चालनमा, तीन गाउँपालिका लाभान्वित हुने

    प्रकाशित २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)


देवचुली । नेपाल विद्युत् प्राधिकरणले नवलपुरमा निर्माण गरेको बोझापोखरी सबस्टेसन सञ्चालमा आएको छ । प्राधिकरणले ३३/११ केभी तथा ३ एमभिए क्षमताको उक्त सबस्टेसन कार्तिक २० गते (सोमबार) देखि सञ्चालनमा ल्याएकाे हाे ।

लामो प्रयासपछि प्रगतिनगर सबस्टेसनबाट बोझापोखरीसम्म २२ किलोमिटरको प्रसारण लाइन निर्माण गरी सबस्टेसन चार्ज सफल भएको कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए । ‘सबस्टेसन चार्ज भएसँगै जिल्लाका बुलिङटार, हुप्सेकोट र बौदीकाली गाउँपालिका लगायतका क्षेत्रमा विद्युत आपूर्तिकाे गुणस्तर सुधार हुनेछ,’ उनले भने, ‘अब यस सबस्टेसनबाट नियमित रुपमा विद्युत् प्रवाह गरिनेछ ।’

यसअघि गाउँपालिकाको कतिपय ठाउँमा लघु जलविद्युत् आयोजनाको बिजुली बाल्ने गरिन्थ्यो भने कतिपय ठाउँका जनता अन्धकारमै थिए । गाउँमा प्रसारण ग्रिडको विद्युत् पुर्याएका छौं, अब यस क्षेत्रका सबै ठाउँका जनताले ग्रिडको बिजुली पाउनेछन् ’मण्डलले बताए । सबस्टेसनबाट बुलिङटार र धौबादी गरी २ वटा फिडर निकालिएको छ ।

एसियाली विकास बैंक (एडिबी) को करिब १२ करोड ऋण लगानीमा ७ वर्षअघि उक्त सबस्टेसन निर्माण सुरु गरिएको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरूवाती लक्ष्य राखिएकाे भए पनि विविध कारणले आयाेजना ४ वर्ष लम्बिएकाे केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पहिलो सम्झौताअनुसार २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विविध कारणले पटकपटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चार वर्षपछि सम्पन्न भएको हो ।

सबस्टेसन निर्माणको ठेक्का ए टु जेड इन्जिनियरिङ कम्पनीले पाएको थियो । आयोजनाको सब कन्टयाक्टर भने त्रिपुरेश्वर जय दुर्गे इन्जिनियरिङ जेभी रहेको थियो ।

Write your Comment