देवचुली।मुख्यमन्त्री भएपछि पहिलो पटक नवलपुरको औपचारिक कार्यक्रममा उपस्थित भएका सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र पर्यटकीय क्षेत्र विकासलाई महत्व दिएको बताएका छन् ।देवचुली जेसीजको आयोजना तथा देवचुली नगरपालिकाको मुख्य संरक्षकत्व र सहयोगमा आयोजित सप्ताहव्यापी देवचुली डाँडा पर्यटन सप्ताहको समुद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पाण्डेले आवश्यकता र चाहनाहरु धेरै हुँदाहुँदै पनि उपलब्ध सीमित स्रोत र साधन उपयोग गर्दै पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्दो सघाउने बताएका हुन् ।
समारोहमा बोल्ने वक्ताहरुले महाभारत पर्वत शृङ्खलाकै सबैभन्दा अग्लो चुचुरोको रूपमा रहेको देवचुली डाँडाको पदमार्ग आधार शिविर देवचुली ६ किर्तीपुरमा सात दिनसम्म चल्ने विविध कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावनाको प्रचारप्रसार, संवर्द्धन र प्रवर्द्धन हुने अपेक्षा गरे।गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले देवचुली पहाडको महत्व नवलपुरकै सभ्यतासँग जोडिएको बताए ।
गण्डकी प्रदेश सरकारका पूर्व कानुन मन्त्री एवं सांसद रोशन बहादुर गाहा मगरले अत्यन्त विकट मानिएको किर्तिपुरमा अहिले भएको विकास हेर्दा स्थानीयहरुले कल्पना पनि नगरेको स्मरण गर्दै अब पर्यटकीय गन्तव्यको रुपमा विकाससँगै सामाजिक आर्थिक विकास नजिक रहेको विश्वास व्यक्त गरे।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा ,देवचुली नगर प्रमुख हरिप्रसाद न्यौपाने र बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दिपेन्द्र सुनारी मगरले स्थानीय स्तरबाट गर्नुपर्ने गतिविधिहरु संचालन भएपनि पर्याप्त स्रोत नहुँदा अपेक्षित उपलब्धि नभएकाले माथिल्लो सरकारले चासो दिन आग्रह गरे।उनीहरूले देवचुली पर्वतको धार्मिक,पर्यटकीय,जैविक,वातावरणीय र सांस्कृतिक लगायतका विषयवस्तु मुख्यमन्त्री समक्ष प्रस्तुत गरेका थिए ।
देवचुली जेसीजका अध्यक्ष गणेश सापकोटाले देवचुली जेसीजको स्थापना वर्ष २०१५ सालदेखि नै देवचुली डाँडाको प्रवर्द्धनका निमित्त योजना र क्रियाकलाप गर्दै आएको चर्चा गरे।दैनिक भलिबल प्रतियोगिता,पदयात्रा अभियान,सांस्कृतिक गतिविधि ,टिकटक प्रतियोगिता लगायतका गतिविधि संचालन हुने सप्ताहमा १६ गते बिहिबार सामुहिक छलफल सहितको युवा सम्मेलन मार्फत पर्यटन प्रवर्द्धनका विषयमा चर्चा हुने कार्यक्रम रहेको छ।
१ हजार ९ सय ३६ मिटर अग्लो उचाईमा रहेको देवचुली चुचुरोबाट उतरतर्फ धौलागिरी र गण्डकीका दर्जनौं सेताम्मे हिमशृंखला, कास्की,तनहुँ,गोर्खा,पाल्पा,स्याङ्जाका अधिकांश दृश्य र दक्षिणतर्फ नवलपुर एवं पश्चिम चितवनको सुन्दर फाँट,नारायणी,चितवन राष्ट्रिय निकुञ्ज लगायतको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।