आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

आज चन्द्रग्रहण, कुन समयमा के गर्ने-के नगर्ने ?

    प्रकाशित २०८० कार्तिक ११, शनिबार (१ साल अघि)


नवलपुर।आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।चन्द्रग्रहण राति १:१९ बजे स्पर्श हुनेछ । चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चन्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

Write your Comment