देवचुली।देवचुली नगरपालिका वडा नम्बर ९ का वडा सचिव जीवन गैरेको बिदाई र नयाँ सचिव रमा न्यौपानेलाई एक समारोहका बीच स्वागत गरिएको छ ।२०७६ पुषदेखि वडा सचिवको रुपमा कार्यरत गैरेले हालै अधिकृतमा नाम निकाल्दै सामान्य प्रशासन मन्त्रालयको प्रशासन सेवामा कार्यरत रहेका छन् ।
देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षता भएको बिदाई कार्यक्रममा निवर्तमान वडा अध्यक्ष,वडा सदस्यहरु,निवर्तमान वडा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि,जनजागृत युवा क्लबका प्रतिनिधि ,विभिन्न समाजसेवी व्यक्तिहरुको उपस्थिति रहेको थियो। वडा सचिव गैरेलाई फूलमाला, अविर, दोसल्ला, मायाको चिनोद्वारा सामुहिक रुपमा बिदाई गरिएको हो।गैरे देवचुली-९ मा गत असोज ८ गतेसम्म वडा सचिव रुपमा कार्यरत रहनुभएको थियो ।
निवर्तमान वडा अध्यक्ष मेखबहादुर थापा सारु मगरले वडा सचिवले आफ्नो कार्यकालमा वडाको समग्र विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा नगरपालिकामा सेवा गर्ने गरि आउनका लागि शुभकामना दिनुभएको थियो।
बिदाई कार्यक्रममा बोल्दै वडा सचिव जीवन गैरेले आफु बिदाई भए पनि वडाको समृद्वि र विकासमा सहयात्री बन्न पछि नहट्ने बताउनुभयो।वडामा काम गर्दा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
त्यस अवसरमा बोल्दै वडाअध्यक्ष बलिराम सापकोटाले वडा सचिव गैरेले वडामा कार्यरत रहँदा निर्वाह गरेको भूमिका र कार्यकुशलताप्रति प्रशंसा गर्दै आगामी कार्यभारका लागि समेत शुभकामना दिनुभयो।त्यस्तै उनले नयाँ वडा सचिव रमा न्यौपानेलाई स्वागत गर्दै वडाको कार्यसञ्चालनमा सामूहिक भावनाका साथ अघि बढ्ने बताउनुभयो। जनताका काममा आपसमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।