देवचुली।देवचुलीमा रहेको चौधरी उद्योगका मजदुरहरुले बुधबार बिहानबाट आन्दोलन सुरु गरेका छन् । ब्रुअरीका काम गर्ने मजदुरहरुलाई बोनस स्वरुप दिईने रकम कटौती गरेपछी मजदुरहरु आन्दोलित भएका हुन् । बुधबार बिहानबाट प्रशासनसँग पटक पटक छलफल गरेपनि प्रशासनले मजदुरको मागप्रति चासो नदिएपछी मजदुरहरु आन्दोलित हुन बाध्य भएको ब्रुअरीमा काम गर्ने शशी सिग्देलले बताउनुभयो । प्रशासनले प्रधान कार्यालयबाट आउने जिम्मेवार व्यक्तिले बोनसको बिषयमा कुनै जानकारी नदिएपछी मजदुर झन आक्रोशित भएका सिग्देलले बताए ।
मजदुरहरु शान्तिपुर्ण आन्दोलन गरेता पनि प्रशासनले प्रहरीलाई खबर गरि आन्दोलन दबाउन खोजेको मजदुर नेता सुर्यनाथ ढकालले बताउनुभयो। रातभर आन्दोलन जारी रहने र भोलिको आन्दोलनको विषयमा छ्लफल गरिने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो “मजदुरको अधिकार हनन गर्न उद्योग उन्मुख भएको छ,हामीले आफुहरुले पाउने बोनसको लागि जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।”
मजदुरहरुले प्रशासकहरुलाई दबाब दिनका लागि कार्यालय अगाडी धर्ना समेत दिएका छन् । आन्दोलनका विषयमा जानकारी लिन उद्योग प्रशासनमा फोन गर्दा जिम्मेवार प्रशासक सम्पर्क हुन सकेन।