नवलपुर।सरकारले ल्याउन लागेको संघीय निजामती विधेयक संशोधनको माग गर्दै नवलपुरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै उनीहरु आ–आफ्ना पालिकामा आन्दोलन स्वरुप धर्नामा बसेका हुन् ।
अत्यावश्यक बाहेक सबै कामकाज बन्द गरी धर्नामा बसिएको स्थानीय तह कर्मचारी संघर्ष समिति देवचुली नगरपालिकाका संयोजक शिव सापकोटाले बताए । उनले अनिश्चितकालीन रूपमा ‘पेन डाउन’ गरिएको बताए । अहिले प्रतिनिधिमूलक रुपमा केही कर्मचारीहरु काठमाडौंको आन्दोलनमा रहेको र अन्य कर्मचारी स्थानीय तहबाटै सरकारलाई दवाब दिइरहेको उनले बताए ।
देवचुली नगरपालिकाका कर्मचारीहरुले शुक्रबारदेखि लगातार अत्यावश्यक बाहेकका सेवा रोकेर धर्ना बसेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि आफुुहरु नियमित काम रोकेर धर्ना बस्न बाध्य भएको संयोजक शिव सापकोटाले बताए । अत्यावश्यक काम भने भइरहेको उनले बताए । देवचुली नगरपालिकामा जस्तै अन्य पालिकाहरुमा पनि कर्मचारी धर्नामा बसेका छन् । कर्मचारी आन्दोलनका कारण सेवाग्राही प्रभावित भएका छन् ।
संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै नवलपुरसहित देशैभरका स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । १५ असोजदेखि स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।
स्थानीय तहका कर्मचारीहरुले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न नेपाल सरकार समक्ष अनुरोध गरेका छन् । उनीहरुले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने,निजामतीको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरूलाई समेत समेटिनु पर्ने, विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, समायोजनका कर्मचारीहरूको (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) उचित व्यवस्थापन गरिनु पर्ने, तिनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनु पर्ने जस्ता माग राखेका छन् ।