आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

कालीगण्डकी करिडोर : गैँडाकोट –राम्दी खण्ड अन्तिम चरणमा

    प्रकाशित २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)


नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर अन्तरगत गैँडाकोट– राम्दी खण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको यस खण्डमा ९५ प्रतिशत काम पुरा भएको कालीगण्डकी करिडोर , गैँडाकोट– राम्दी–मालढुङ्गा सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी पवित्रमणी आचार्यले बताउनुभयो ।

गैँडाकोट –राम्दी खण्डको सबैजसो काम सकिएको छ । सडक सुरक्षाका कामहरू ,किलोमिटर पोस्टहरू जस्ता साना काम बाँकी रहेको भएपनि ठूला सबै काम सकिएको आयोजनाका सूचना अधिकारी आचार्यले बताउनुभयो । आउँदो कात्तिक मसान्त सम्म यस खण्डको काम सम्पन्न गर्नुपर्ने म्याद रहेकाले निर्माण कम्पनीले सोही अनुसार काम गरिरहेको उहाँको भनाई छ ।

गैँडाकोट –राम्दी खण्डको एक सय ३२ किलोमिटर सडक मध्य अब करिब दुई किलोमिटरमा मात्रै कालोपत्रेको काम गर्न बाँकी रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । नवलपुरको डेढगाउँ –बुलिङटार र बुलिङटार –गैँडाकोट खण्डमा केही स्थानमा ठूलो पहिरो गएकाले काम गर्न समस्या भएको उहाँको भनाई छ । पहिरो गएको स्थानमा तत्काल कालोपत्रे गर्दा दीर्घकालीन नहोला भनेर त्यो खण्डमा ग्राभेल मात्रै गरेर राख्ने योजना रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । पहिरो गएको स्थानमा कन्सल्ट्यान्टहरु ल्याएर अध्ययन गर्ने काम भइरहेको उहाँको भनाई छ । पहिरो नियन्त्रणको उपाय खोजी गरि आयोजनाको म्याद रहेको खण्डमा आयोजनाबाट नभए हस्तान्तरण पछि सम्बन्धित डिभिजनबाट काम गर्ने गरि सुझाव दिइने सूचना अधिकारी आचार्यले बताउनुभयो ।
पहिराको जोखिम भएको स्थान र पुलहरुको दुईतर्फका भागहरूमा गरि करिब दुई किलोमिटरमा मात्रै कालोपत्रे बाँकी रहेको उहाँले बताउनुभयो । ‘गैँडाकोट –राम्दी खण्डमा सबैजसो ठूला काम सकिएको छ, पहिरोको जोखिम भएको स्थान र अन्य केही पुलको छेउछाउ मात्र कालोपत्रे बाँकी छ’ सूचना अधिकारी आचार्यले भन्नुभयो ।

गैँडाकोट –राम्दी खण्डमा पर्ने सबैजसो पुलहरू समेत सम्पन्न हुने चरणमा रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । यस खण्डमा पर्ने २८ वटा पुल मध्य एउटा पुलको काम बाँकी रहेको अन्य सबै सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनुभयो । नवलपुरको गैँडाकोट र बुलिङटारको सिमानामा रहेको तरङ्गा खोलामा पुलको काम बाँकी रहेको छ । पुलको ठेक्का सम्झौता भएको तर व्यवसायीले काम नगर्दा ढिलो भएकोमा अब दशैँ लगतै काम सुरु हुने र करिब दुई महिनामा सो पुल निर्माणको काम सकिने सूचना अधिकारी आचार्यले बताउनुभयो । गैँडाकोट –राम्दी खण्डमा नवलपुर तर्फ १४ र पाल्पा तर्फ १४ वटा पुल रहेका छन् ।

गैँडाकोट –राम्दी खण्ड करिब साढे पाँच अर्बको लागतमा ठेक्का सम्झौता भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । विस २०७५ कात्तिक २ गते सम्झौता भएर ३६ महिनामा सम्पन्न गर्ने भनिएकोमा कोभिडको प्रभाव ,भौगोलिक जटिलताले उक्त समयमा काम सम्पन्न नभएपछि विसं २०८० कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि म्याद थप गरिएको उहाँले बताउनुभयो । यस अवधिमा आयोजनाले पूर्णता पाउने सूचना अधिकारी आचार्यको भनाई छ ।रासस

Write your Comment