देवचुली । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुली नगरपालिकास्तरीय मावि तह कविता प्रतियोगिता सम्पन्न भएको छ। देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगर बाल संजालको आयोजनामा बालमैत्री घोषणाको पाँचौ वर्ष समिक्षा समारोह तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो।
बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी नाराको साथ कार्यक्रम आयोजना गरिएको नगर बाल संजालका अध्यक्ष आस्था अधिकारीले बताउनुभयो । बाल दिवसको अवसरमा भाद्र २२ गते नगरपालिका स्तरीय चित्रकला प्रतियोगिता आधारभूत तह (१-५ ) र हस्तलेखन प्रतियोगिता आधारभूत तह (६-८) सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाका १२ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा पशुपति साङ्गवेदका गौरव पाण्डे प्रथम ,नेपाल माविका सौर्य पौडेल द्वितीय,भीमसेन आदर्श माविका निशा सारु तृतीय र अमर ईङ्गलिस बोर्डिङ स्कुलका विस्मिता अधिकारीले सान्त्वना स्थान हात पारेका छन् ।तीन वटै प्रतियोगिताका प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरुलाई आज नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो।
नगर बाल संजालको अध्यक्ष आस्था अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा,सामाजिक विकास शाखा प्रमुख विमला लम्साल,महिला तथा बालबालिका शाखाका सीता पौडेल लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।