आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुलीको सकलादेवी माविमा कप्तान र उपकप्तान छान्न चुनाव

    प्रकाशित २०८० भाद्र १६, शनिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयमा कप्तान र उपकप्तान छान्न चुनाव गरिएको छ। चुनावी प्रक्रियाबाट विद्यालयको कप्तानमा कक्षा ९ का अनमोल पौडेल निर्वाचित भएका थिए ।


पौडेलसँगै कप्तानका लागि रिजन राना,स्वर्णिमा रेग्मी,पवन भण्डारी र विक्रम सापकोटा प्रतिष्पर्धामा रहेका थिए। त्यसै गरि विद्यालयको उपकप्तानमा कक्षा ८ का टेकबहादुर लुंगेली मगर निर्वाचित भएका हुन् । लुंगेली सँगै उपकप्तानका लागि गृश थापा,कृशा अधिकारी,दिपक सारु र सन्ध्या लम्साल प्रतिष्पर्धामा रहेका थिए।

मतदान प्रक्रियामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो। कक्षा १० को सामाजिक अध्ययन बिषय अन्तर्गत “निर्वाचन प्रक्रिया र नागरिकको भुमिका ” पाठको प्रयोगात्मक अभ्यास अन्तर्गत कप्तान र उपकप्तान चयनका लागि निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी शिवाकोटीले जानकारी दिनुभयो ।चुनावी माध्यमबाट नेतृत्व छनोट गर्ने प्रक्रियाबारे विद्यार्थीहरूलाई जानकारी दिन एवम् भविष्यमा स्थानीय एवम् राष्ट्रियस्तरमा हुने चुनावमा नेतृत्व चयन गर्न सक्ने क्षमताको विकासका लागि समेत निर्वाचन कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

शुक्रबार भएको निर्वाचनमा पर्यवेक्षकको रुपमा शिक्षक राजकुमार श्रेष्ठ र बसन्तराज पोखरेल रहेका थिए भने प्रमुख निर्वाचन अधिकृतमा पुष्कर बहादुर भण्डारी र सहायक निर्वाचन अधिकृत कमल पौडेल रहेका थिए । विद्यालयका शिक्षकहरुले चुनावी व्यवस्थापन गरेका थिए।

Write your Comment