आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाउँदै देवचुलीको शान्ति सृजना आधारभूत विद्यालय

    प्रकाशित २०८० भाद्र ९, शनिबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति सृजना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ।पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयमा अध्ययनरत कक्षा ५,६ र ७ का विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप प्रदान गरिएको हो।

शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत सालको पातबाट बनाईने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा प्रकाश पार्दै विद्यार्थीहरुलाई दुना टपरी बनाउने सिप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्रकान्त पौडेलले बताउनुभयो । विद्यार्थीहरुलाई परम्परागत सीप सिकाउने उद्देश्यले विद्यालयले विद्यार्थीहरुलाई दुना टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेको उहाँले बताउनुभयो । प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयले हरेक शुक्रबार फरक फरक अतिरिक्त क्रियाकलाप संचालन गरि विद्यार्थीहरुलाई सहभागी गराउने गरेको छ।

विद्यालयस्तरबाटै जीवन उपयोगी सीप सिकाउँदा मौलिक कला परम्परा जगेर्ना हुनुको साथै विद्यार्थीहरूलाई व्यावहारिक रुपमा समेत सहयोग पुग्ने देवचुली वडा नम्बर ४ का अध्यक्ष गिरबहादुर थापा (राम)ले बताउनुभयो ।विद्यालयले नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीहरुलाई सालको पातबाट दुना, टपरी तरिका बनाउन सिकाउने कार्य उदाहरणीय भएको उहाँले बताउनुभयो ।

समाजमा भोजभतेर,पूजाआजा जस्ता कार्यक्रममा प्रयोग गरिने दुना टपरी पछिल्लो समय कागज र प्लाष्टिकका प्लेट प्रयोग बढेपछी लोप हुँदै गएको छ।

Write your Comment