देवचुली। देवचुलीमा प्राथमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शुक्रबार संचालन भएको हाजिरीजवाफ प्रतियोगितामा भृकुटी बोडिङ्ग स्कूल प्रथम भएको छ। शुक्रबार नगरभित्रका ३२ वटा विद्यालयहरुको सहभागितामा वरचुली माध्यमिक विद्यालयको सभाहलमा भएको प्रतियोगितामा वरचुली माध्यमिक विद्यालय द्वितिय र पृथ्वी माध्यमिक विद्यालय तृतीय भएका छन् ।
प्रतियोगितामा भृकुटी बोडिङ्ग स्कुलबाट पवित्रा वान्टकी,सुप्रिम भुसाल र विशेष काफ्लेको सहभागी थिए भने वरचुली माध्यमिक विद्यालयबाट प्रज्ञान खनाल,शिरिषा सुबेदी र सिर्जन गैरेको सहभागिता रहेको थियो । त्यस्तै पृथ्वी माध्यमिक विद्यालयबाट दिशान्त भुसाल,महिमा थनेत र दिवस आचार्यको सहभागिता रहेको थियो।
प्राथमिक तहका विद्यार्थीहरुलाई ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो । शनिबार आधारभूत तह (कक्षा ६-८) र माध्यमिक तहको हाजिरीजवाफ संचालन गरिने शिक्षा शाखाले जनाएको छ।