देवचुली। देवचुली नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार देखि अभियानको रुपमा नै सचेतना कार्यक्रम सुरु गरिएको हो ।
बुधबार देवचुली १४ र १५ मा कार्यक्रम गरिएको र बिहीवार देवचुली १०,१२ र १३ मा कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रत्येक वडामा टोल विकास संस्थाका पदाधिकारी र सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई डेंगु रोग नियन्त्रण सम्बन्धि सचेतना तथा लामखुट्टेको लार्भा खोजी नष्ट गरौं अभियानका बारेमा अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा डेंगु रोग के हो ? कसरी सर्दछ र यसको रोकथाम तथा नियन्त्रणका विषयमा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पिताम्बर भुर्तेलले सहजीकरण गर्नुभएको थियो। अभिमुखीकरण पछि प्रत्येक टोल सुधार समितिलाई सरसफाइ कार्यक्रम संचालन गर्नका लागि ग्लोब्स र माक्स दिइएको थियो।
पछिल्लो समय देवचुलीका ५ जनामा डेंगु रोगबाट संक्रमित भएको र अन्य व्यक्तिलाई रोग लाग्नबाट जोगाउनका लागि सचेतना कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाका प्रत्येक वडामा सचेतना कार्यक्रम गरि टोल सुधार समितिमार्फत प्रत्येक टोलमा सरसफाइ कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।
डेंगु लागेपछि वान्ता हुने, शरीर दुख्ने आँखाको नानी दुख्ने लगायतको लक्ष्य देखा पर्ने साथै एक बर्ष मुनिका बालबालिका, गर्भवती महिला र सुगर लगायतका अन्य बिरामीहरुलाई बढी असर गर्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
घरवरिपरी पानी जमेको ठाउँहरू, घरको वरीपरी राखिएको टायर, फूलमा राखेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्ने बताउँदै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पर्नुपर्ने उहाँले जानकारी दिनुभयो।