देवचुली। अखिल नेपाल किसान महासंघ देवचुली नगरपालिका समितिद्वारा विभिन्न माग गरि देवचुली नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ। गण्डकी प्रदेशको सम्पूर्ण पालिकाहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार महासंघले देवचुली नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो। किसानका समस्यालाई मध्यनजर गर्दै स्थानीय पालिकाहरुमा किसानका हक अधिकारहरुलाई संरक्षण गर्नुपर्ने मागसहित देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीलाई ज्ञापन पत्र बुझाएको हो।
देवचुली नगरपालिकामा रहेका वास्तविक किसानहरुको पहिचान गरि कृषकका समस्या र त्यसको समाधानका लागि अखिल नेपाल किसान महासंघ देवचुली नगर समितिले १३ बुँदे मागसहित नगर उप प्रमुख तिवारीलाई ज्ञापन पत्र बुझाएको हो।महासंघका देवचुली नगरपालिका समितिका अध्यक्ष नारदमणी पाण्डे सहितको टोलीले शुक्रबार नगर उप प्रमुखको कार्यक्रम पुगेर ज्ञापन पत्र बुझाएको हो ।
अखिल नेपाल किसान महासंघको टोलीले नगरपालिकासँग किसानको जीवनस्तर समुन्नत बनाउने तर्फ प्रभावकारी निति कार्यक्रम र बजेटको व्यवस्था गर्न माग गरेको छ। किसानको पहिचान, किसानको वर्गीकरण, किसानको सुचिकरण गर्नुपर्ने, उन्नत कृषक पाठशाला स्थापना गर्नुपर्ने , स्थानीय सरकारबाट वास्तविक किसानका लागि आवश्यक रासायनिक मल, उन्नत बिउ विजन र किट तथा रोगनाशक विषादीहरुको सहज व्यवस्था मिलाई दिनु पर्ने, भारत तथा अन्य देशबाट आयात हुने कृषि जन्य पदार्थ तथा मासु जन्य पदार्थलाई प्रतिबन्ध गर्नुपर्ने,कृषि उत्पादनको उचित मूल्य कायम गर्नुपर्ने,सुकुम्बासी समस्या समाधान गर्दा कम्तीमा दुईजना किसान महासंघ कमिटीका सदस्यलाई सहभागी गराउनुपर्ने,कृषि फम वा माछा पोखरीमा जडान गरिएका विद्युत मिटरको दर रेट कृषि मिटर सरह कायम हुनुपर्ने,दुग्धमा दिदै आएको अनुदान कायम गर्नुपर्ने माग अखिल नेपाल किसान महासंघको रहेको छ ।
ज्ञापन पत्र बुझ्दै नगर उप प्रमुख तिवारीले नगरपालिकाले कृषिलाई प्राथमिकता दिदै काम गरेको र किसानहरुका समस्या समाधानका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो ।