दयाराम आचार्य,नवलपुर । अविरल वर्षासँगै खसेको पहिरोले नवलपुर स्थित कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका-१, स्थित मोचडाँडा र वडा नम्बर ६ मा पर्ने कौडेको भिर भन्ने स्थानमा खसेको पहिराको कारण कालिगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलले बताउनुभयो ।
पहिराले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । १९ घण्टा देखि यस खण्ड पहिरोको कारण अवरुद्ध भएको हो । पानी परेको समयमा पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सुचारु हुने सम्भावना कम रहेको छ ।
कालिगण्डकी करिडोर अन्तरगत नै गैँडाकोट-३, तरंखोलामा पानीको बहाव बढेर यातायात वारपार हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । कालिगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्र सहित ,यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनैपनि यातायात सञ्चालन हुन सकेका छैनन् ।
जिल्लाको दलदले-बुलिङटार सडक खण्ड समेत पहिराको कारण अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षासँगै बुलिङटार-४, अर्खलामा खसेको पहिराको कारण पूर्ण रुपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँको भनाई छ ।