काठमाडौं ।बालिकाको तस्बिर दुरुपयोग गरी अस्लील तस्बिर र भिडियो बनाउने दुई जना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोकको इन्द्रावती घर भएका १९ वर्षीय समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार उनीहरूले पीडित बालिकालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाई कुराकानी गर्दै जाने क्रममा प्रेम सम्बन्धको बहाना बनाएको र अडियो र भिडियो कलको माध्यमबाट मानसिक तनाव दिन थालेपछि पीडितले फेसबुकमा ब्लक गरेकी थिइन्।
प्रोफाइल ब्लक गरेर सम्पर्कविहीन भएपछि पीडकले अन्य अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित बालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख दिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवैलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।