आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै,सचेत रहन नगरपालिकाको अनुरोध

    प्रकाशित २०८० श्रावण २१, आईतबार (१ साल अघि)


देवचुली।पछिल्लो समय देवचुली लगायत नवलपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । अत्याधिक गर्मी तथा वर्षातको समय रहेकाले यस रोग प्रकोपको रुप लिएको हो । रोगबाट बालबालिका, युवा, वृद्धवृद्धाहरु सबै प्रभावित भएका छन् ।

आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ ।केही दिनदेखि देवचुली नगर अस्पतालमा बिरामीको चाप बढेको छ । शुक्रबार देखि आँखाको समस्या लिएर आउने बिरामीको संख्या ४० भन्दा बढी रहेको र आइतबार ५० जना भन्दा बढी उपचारका लागि आएको देवचुली नगर अस्पतालका सूचना अधिकारी गणेश न्यौपानेले जानकारी दिनुभयो । यता संक्रमण फैलिएसंगै आवश्यक सतर्कता अपनाईएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

संक्रमण फैलिन थालेको थाहा पाउने बित्तिकै आवश्यक औषधि खरिद, जनचेतना अभिवृद्धि लगायतका काम तत्काल अघि बढाइएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । आँखा पाक्ने रोगका संक्रमित भेटिएपछि नगरपालिकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी बालबालिकामा बढी संक्रमण फैलिरहेको सन्दर्भमा विद्यालय संक्रमणको इपिसेन्टर हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।

दैनिक ८-१० जना विद्यार्थीहरुलाई आँखामा समस्या आएको भन्दै उनीहरुलाई बिदा दिइएको र सचेत रहनका लागि सबै विद्यार्थीहरुमा जानकारी गराइएको भीमसेन आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नवराज घिमिरेले बताउनुभयो ।

यस रोगको संक्रमण भएमा बढी भिडभाडमा नजाने, आँखा हातले नछुने, साबुनपानीले हात सफा गर्ने लगायतका सावधानी अपाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमण भएपछि आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । अहिले फैलिएको संक्रमणले दृष्टिबिहीन नबनाए पनि आँखाको सेतो भागमा असर पार्न सक्ने भएकाले जोखिम भने रहेको चिकित्सकहरुले बताउने गरेका छन् । संक्रमण भएपछि औषधिले एक हप्ता सम्ममा निको हुने र कुनै जटिलता भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो।

Write your Comment