आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाले वृद्धि गरेको कर फिर्ता गर्न बजार व्यवस्थापन समितिको ध्यानाकर्षण

    प्रकाशित २०८० श्रावण १०, बुधबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकाले वृद्धि गरेको कर फिर्ता गर्न प्रगतिनगर र दलदले बजार व्यवस्थापन समितिद्वारा नगरपालिकामा ध्यानाकर्षण गराएको छ।विश्वव्यापी कोभिडको प्रभाव, विषम आर्थिक मन्दी, बैंक ब्याजदर वृद्धि, बैंक ऋण सहज नभई देशको समग्र आर्थिक अवस्था नै नाजुक र समस्याग्रस्त भएको बेलामा कर वृद्धि गर्नु उपयुक्त नहुने भन्दै नगर प्रमुखको कार्यकक्षमा व्यवसायीहरु पुगि कर वृद्धि फिर्ता गर्न माग गरेका हुन्।

वर्तमान अवस्थामा देवचुली नगरपालिकामा अवस्थित सम्पूर्ण उद्योगपति, व्यापारी, कृषक तथा आम जनताको ढाड सेकिने गरी अनन्त तथा सात सय प्रतिशतसम्म करवृद्धि कुनै पनि औचित्यता, आवश्यकता, प्रभावकारिता र वैज्ञानिक नदेखिएको भन्दै तुरुन्तै नगरपालिकाले निर्णय सच्याउनका लागि दुवै बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुले माग गरेका हुन्। बिना छलफल र असहज परिस्थितिलाई नजर अन्दाज गर्दै पुरै हचुवाको भरमा एकतर्फी रूपमा गरिएको करवृद्धि प्रति व्यवसायीको असहमति रहेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा कर प्रभावकारी, सरल, वैज्ञानिक, उत्पादनमुलक, लचिलो र क्षमताका आधारमा तय गरि जनताका लागि ठूलो भार नबनाउन भनिएको छ।जनताको ढाड सेक्ने गरी तथा अधिकारको दुरूपयोग हुने गरी गरिएको करवृद्धि प्रति असहमति जनाउँदै करवृद्धि नरोकिएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने र यसबाट सिर्जना हुन सक्ने अवस्थाको बारे नगरपालिका स्वयम् जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ।

ज्ञापनपत्र बुझ्दै देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपाने र उपप्रमुख पार्वता तिवारीले वृद्धि गरेको करको छलफल गरि बैठकबाट निर्णय गरिने बताउनुभयो ।

Write your Comment