आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

नवलपुरमा बालिकाको भन्दा बालकको जनसंख्या बढी

    प्रकाशित २०८० श्रावण ४, बिहिबार (१ साल अघि)


दीपक शर्मा,नवलपुर।नवलपुरमा बालिकाको भन्दा बालकको जनसंख्या ६ हजार १६ ले बढी देखिएको छ । राष्ट्रिय जनगणना २०७८ बमोजिम नवलपुरमा कुल बालबालिकाको जनसंख्या १ लाख १७ हजार ९४ रहेकोमा बालकको संख्या ६१ हजार ६ सय ४६ र बालिकाको ५५ हजार ४ सय ४८ रहेको तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख रहेको छ । नवलपुरमा कुल जनसंख्याको ३०.९७ प्रतिशत बालबालिका रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपुरमा जम्मा जनसंख्या ३ लाख ७८ हजार ७९ रहेको छ । जसमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । महिलाको २ लाख १ सय ९२ रहेको र पुरुषको १ लाख ७७ हजार ८ सय ८७ रहेको छ । यसरी हेर्दा कुल जनसंख्यामा पुरुषको जम्मा प्रतिशत ४७.१ प्रतिशत र महिलाको ५२.९ प्रतिशत रहेको छ ।

बालबालिकाहरु बसोबासको आधारमा हेर्दा बाबुआमासँगै बस्ने बालक ४२ हजार १ सय ९६ र बालिका ३७ हजार ७ सय ८ देखिन्छ । जुन जम्मा बालबालिकाको संख्याको ६८.२ प्रतिशत अर्थात ७९ हजार ९ सय ४ बालबालिका हुन आउछ । यस्तै आमासँग मात्र बस्ने बालक १५ हजार ३ सय ५० र बालिका १३ हजार ६ सय ९० देखिन्छ । जुन जम्मा बालबालिकाको २४.८ प्रतिशत अर्थात २९ हजार ५० रहेको छ ।

नवलपुरमा बाबुसँग मात्र बस्ने ७९७ बालक र बालिका ६६० गरी कुल १ हजार ४५७ रहेको प्रतिवेदनमा छ । जुन कुल बालबालिकाको १.२ प्रतिशत देखिन्छ ।यस्तै गरी बाबु र सौतेनी आमासँग बस्ने ३ सय ८४ बालक र बालिका ३ सय ४४ गरी ७ सय २८ रहेको उक्त प्रतिवेदनमा छ । जुन १ प्रतिशतभन्दा पनि कम रहेको देखिन्छ । यस्तै गरी नवलपुरमा ४ प्रतिशत अर्थात ४ हजार ६ सय ३७ बालबालिकाहरु अन्य आफन्तहरुसँग बस्नेको तथ्यांक देखिएको छ । जहाँ बालक २ हजार १ सय ६७ र बालिका २ हजार ५ सय ६ रहेको देखिन्छ ।

Write your Comment