दीपक शर्मा,देवचुली। देवचुली नगरपालिकालाई पर्यटकको आकर्षक केन्द्रको रुपमा विकास गर्ने गरी नगरले नीति अवलम्बन गरेको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नगरले २०८० को नीति तथा कार्यक्रममा शास्वत धाममा आउने पर्यटकहरुलाई देवचुली डाँडामा हाईकिंग र पहाडी क्षेत्र बन्दीपुर, किर्तिपुरबाट नारायणी नदिसम्म साईक्लिँगको योजना रहेको जनाएको छ । देवचुली डाँडाको प्रवेशद्धार रहेको किर्तिपुर गाँउलाई पर्यटन उन्मुख नमुना गाँउको रुपमा विकास गरी सो स्थानमा होमस्टेको सञ्चालन गर्ने नगर प्रमुख न्यौपानले बताउनुभयो।
नगरले यो चालु आवमा देवचुली डाँडाको पर्यटकीय गतिविधिको लागि गुरुयोजना निर्माण गर्ने र सोही अनुसार समग्र जिल्लाका पालिकाहरु र प्रदेश सरकार एवम संघीय सरकारसँग र नीजि क्षेत्रसँगको साझेदारीमा काम गर्ने लक्ष्य राखिएको नगर प्रमुख न्यौपानेले जोड दिनुभयो ।
शास्वत धाममा प्रत्येक महिना नयाँ र पुराना गरी मासिक १ लाख दर्शकहरु आउने गरेको र उनीहरुलाई यहाँको अन्य क्षेत्रको बारेमा समेत जानकारी प्रदान गरी नगर भित्र नै बास बसाल्न सकिए मात्र आर्थिक गतिविधी हुने पर्यटन व्यवसायी सोम महत्तोले बताउनुभयो । प्राकृतिक सौन्दर्य सँगै स्थानीय संस्कृतिसँग पर्यटकलाई आकर्षित बनाउने कार्यक्रम निर्माणका लागि सबै पक्ष लाग्नुपर्ने आवश्यकता रहेको महतोले बताउनुभयो ।
देवचुलीमा हाल २ वटा सामुदायिक तवरबाट खोलिएका होमस्टेहरु र २ दर्जन भन्दा बढी साना ठुला होटल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् । नेपालको मध्य भागमा पर्ने देवचुली जहाँबाट पनि सजिलै आउन सकिने, चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदिको किनारमा रहेको, तराई र पहाडको अनुभव एकै दिनमा लिन सकिने पर्यटन व्यवसायी पलट चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्याप्त प्रचारप्रसार नहुँदा यहाँको पर्यटकीय स्थलहरु ओझेलमा परेको छ।
एक सिँगे गैंडा र अन्य जंगली जनावरहरुको अवलोकनलको लागि पहिला चितवन जानुपर्ने बाध्यतालाई रोक्दै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा साथै राष्ट्रिय निकुञ्ज भित्र पनि यस नगरबाट जान सकिने भएकोले यस्ता सुचनाहरु देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्ने संरक्षणकर्मी डिआर क्षेत्री बताउनुभयो ।यस क्षेत्रबाट सफारीमा जानेहरुले गैंडालगायत जंगली जनावरको दृश्य अवलोकन सहज गर्न सकिने उहाँले बताउनुभयो । जंगली जनावरको पर्यावरण नबिगार्ने गरि सफारी लगायतका अन्य गतिविधि संचालन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
चितवनको सौराहा जतिकै संभावना बोकेको यस क्षेत्रमा अबको आवश्यकता प्रचारप्रसार रहेको र स्थानीय तहहरुले यसको नेतृत्व लिएर देशभरका सवै पालिकाहरुमा सन्देश प्रवाह गर्न सके पनि यहाँ पर्यटकीय गतिविधि बढ्ने आईल्याण्ड जंगलका म्यानेजर दिपक तिवारीले बताउनुभयो।