नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पर्ने कालिगण्डकी करिडोरमा १२ दिन पछि यातायात संचालनमा आएको छ । पहिराको कारण गत असार १४ गते देखी यस सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि सोमबार साँझदेखी यस खण्डमा यातायात संचालन हुन थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।
कालिगण्डकी करिडोर अन्तरगत गैँडाकोट नगरपालिका-३, स्थित सेतो पहिरो भन्ने स्थानमा खसेको ठूलो पहिराको कारण यसखण्डमा यातायात संचालन हुन सकेको थिएन्. । पहिरो पन्छाएपछि अहिले यस खण्डमा एकतर्फी रुपमा यातायात संचालनमा आएको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।
पहिरो पन्छाएसँगै करिडोर हुँदै नवलपुरको पहाडी क्षेत्र सहित पाल्पा, स्थाङ्जा, पोखरा लगायतका ठाउँमा यसखण्ड हुँदै यातायात संचालन हुन थालेका छन् । हाललाई पहिरो पन्छाएर यातायात संचालन गरिएको भएपनि पानी पर्दा भने पहिरोको जोखिम कायम रहेकाले सडक खण्डको बारेमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरी नायव उपरिक्षक पौडेलले अनुरोध गर्नुभयो ।