आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाले सुरु गर्यो पशु आहारा (साइलेज) उत्पादन

    प्रकाशित २०८० जेष्ठ २७, शनिबार (१ साल अघि)


नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन सुरु गरेको छ । नगरपालिकाले पशु आहारा साइलेज ( हरियो घाँसलाई विशेष रुपमा पोषणतत्त्व कायमै रहने गरि तयार पारिने पशु आहारा उत्पादन सुरु गरेको हो । नगरपालिका भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले पशु आहारा साइलेज उत्पादन सुरु गरेको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । पशुपालनमा लागत घटाउँदै किसानको आम्दानीलाई बढाउन यो योजनाले सहयोग पुग्ने विश्वास रहेको नगर प्रमुख न्याैपानेले बताउनुभयो ।

नगरपालिकाले उत्पादन गरेको पशु आहार पशुपालक किसानलाई सहुलियत रुपमा बिक्री गर्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो । ‘अहिले कतिपय पशुपालक किसान पलायन हुने अवस्थामा पुगेका छन् ,यसको प्रमुख कारण उत्पादन लागत धेरै हुनु र आम्दानी कम हुनु हो , हामिले किसानकै सहयोगमा दाना उत्पादन गर्ने र सहुलियत रुपमा दिने योजना अनुसार उत्पादन साइलेज सुरु गरेका छौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘यसले पशुपालक किसानलाई उत्पादन लागत घटाउन सहयोग पुग्ने विश्वास छ।’

नगरपालिकाले साइलेज उत्पादनका लागि यस अघि किसानलाई मकै खेतीका लागि प्रोत्साहन गरेको थियो । मकै खेतीका लागि बिउ, मल, सिँचाइका लागि अनुदान उपलब्ध गराएको थियो । किसानले उत्पादन गरेको कच्चा पदार्थ हरियो मकै नगरपालिकाले खरिद गर्ने छ । उद्योगमा ल्याएर घाँस बेच्ने किसानलाई रु. ५ सम्म र नगरपालिकाले आफ्नै स्रोतले कच्चा पदार्थ उद्योग सम्म ल्याउने व्यवस्था गरे प्रतिकिलो रु. ४ सम्म किसानलाई घाँसको मूल्य प्रदान गर्ने योजना रहेका तर अझै मूल्य निर्धारणको काम बाँकी रहेको छ । उद्योगमा साइलेज उत्पादन पछि पशुपालक किसानलाई सहुलियत दरमा प्रदान गरिने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले हाल उद्योगमा ४० देखी ५० केजी सम्मका प्याकेज तयार पारिरहेको छ । यसलाई प्लाष्टिकले बेरेर राखेको ६० दिन पछि पशुलाई दानाका रुपमा खुवाउन सकिने देवचुली नगरपालिका पशु शाखा प्रमुख श्यामकृष्ण तिवारीले बताउनुभयो ।

नगरपालिका र गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमको साझेदारीमा करिब रु. २ करोड ५० लाखको लागतमा दान उत्पादन उद्योग स्थापना गरि साइलेज उत्पादन सुरु गरिएको नगरपालिका प्रवक्ता तिल प्रसाद काफ्लेले बताउनुभयो । उद्योग स्थापनाले नगरपालिका सहित आसपासका पशुपालक किसान लाभान्वित हुने र पशुपालनमा किसानलाई आकर्षित गर्ने प्रवक्ता काफ्लेले बताउनुभयो । ‘उद्योग स्थापनाले हाल पशुपालन गरिरहेका किसानले त लाभ लिन्छन नै , नयाँ पशुपालन गर्न चाहनेलाई पनि सुविधा हुने हुँदा आकर्षण बढाउन अपेक्षा छ’ प्रवक्ता काफ्ले भन्नुभयो । उद्योग स्थापनाले रोजगारीको समेत सिर्जना गराएको उहाँले बताउनुभयो । किसानले बाँझो जमिनमा घाँस लगाएर उद्योगलाई बेच्न सक्ने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

Write your Comment