आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

हुप्सेकोट गाउँपालिकाको विकास खर्च ४५ प्रतिशत मात्रै

    प्रकाशित २०८० जेष्ठ ३, बुधबार (१ साल अघि)


विष्णु गौडेल,हुप्सेकोट।नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको चालु आर्थिक वर्षको १० महिनामा ४५ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ ।चालु आर्थिक वर्ष २०७९/०८० को अहिलेसम्म विकास खर्च ४५.०२ प्रतिशत मात्र रहेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताउनुभयो ।

“चालु र पुँजीगत गरी रु.६० करोड ६५ लाख ५६ हजार ८ सय ६५ बजेटमा अहिलेसम्म रु.२७ करोड ३१ लख ३ हजार ५ सय ८१ खर्च भएको छ” उहाँले भन्नु भयो “चालु तर्फ ५७.०४ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ ३१.७५ प्रतिशत वित्तिय प्रगति रहेको छ ।”

गाउँपालिकामा चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेट मध्ये ८ करोड ७१ लाख ३५ हजार रुपैंया बराबरका कार्यक्रम तथा योजनाहरु संचालन र सम्झौता एवं भुक्तानी गर्न कठिनाई हुने देखीएको लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनु भयो ।“चालु आर्थिक वर्षमा संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानतर्फ १ करोड ३८ लाख ५० हजार रुपैंया र प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानतर्फ १५ लाख ७० हजार रुपैंया कटौती हुने भएको छ” उहाँले भन्नु भयो “स्थानीय राजश्व बाँडफाँड तर्फ ७ करोड १७ लाख १५ हजार रुपैंया आम्दानी हुन नसक्नुले चालू आर्थिक वर्षमा विनियोजित ८ करोड ७१ लाख ३५ हजार रुपैंया बराबरका योजनाहरु संचालन गर्न नसकिने भएको छ ।”

गाउँपालिकाको आर्थिक विकास तर्फ २४.७६ प्रतिशत, सामाजिक विकासमा ५५.२५ प्रतिशत, पूर्वाधार विकासमा ३०.७५ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३१.४० प्रतिशत, कार्यालय संचालन तथा प्रशासनिक तर्फ ७१.४४ प्रतिशत वित्तिय प्रगति भएको छ । त्यस्तै शिक्षा, युवा तथा खेलकुल शाखामा विनियोजित कुल बजेटको ६५.७३ प्रतिशत खर्च भएको छ । स्वास्थ्य तर्फ १४.७७ प्रतिशत, कृषि विकास शाखा तर्फ १८.२८ प्रतिशत र पशुसेवा शाखाको ५२.४७ प्रतिशत कार्यप्रगति भएको छ ।

गाउँपालिकाको कार्य प्रगति लक्ष भन्दा कम भएकाले आगामी दिनमा सुधारका रणनिति अपनाईने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “टुक्रे योजना भन्दा पनि ठूला योजनाहरु अगाडि बढाएर समयमा नै काम सक्नेगरी आगामी बजेटहरु तयार गनु पर्ने देखियो” उहाँले भन्नु भयो “आवश्यक स्रोत साधनको सदुपयोग गर्दै राजस्वमा वृद्धि गर्न नसक्नुले योजनाहरु कार्यान्वयनमा समस्या भएको छ ।”पालिकाको आन्तरकि स्रोतहरुलाई बढाउन पहल गर्न आवश्यक रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।

Write your Comment