आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुली ७ मा कृषकहरूका लागि कृषि सामग्री वितरण

    प्रकाशित २०८० बैशाख १३, बुधबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ७ मा कृषकहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ। मंगलबार आर्थिक वर्ष २०७९/०८० को वडास्तरीय योजना कृषि तथा पशुपालन सहयोग कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट वडा कार्यालयले दर्तावाला पशुपालक कृषकहरुका लागि सामग्री वितरण गरेको हो।

देवचुली ७ मा रहेको युनिक टोल समूह दुग्ध डेरीलाई दुधको क्रिम काटने मेसिन प्रदान गरिएको छ भने फर्म दर्ता गरि संचालनमा रहेका पशुपालक कृषकहरू शालिकराम भुसाल,हरिभक्त दाहाल,विष्णु काफ्ले र प्रताप थापालाई १/१ थान घाँस काट्ने चाप कटर वितरण गरिएको देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा आलेले बताउनुभयो । उहाँले वडाले कृषकहरुलाई प्रोत्साहनका लागि हरेक वर्ष कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा आलेको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्यहरु,टोल सुधार समितिका पदाधिकारीहरु, वडा कृषि समितिका सदस्यहरु लगायतका कृषकहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरि मंगलबार नै १ दिने नि:शुल्क वडा भेटेरीनरी क्लिनिक तथा पशुपन्छी पालक कृषकहरू अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । देवचुली वडा न ७ र ८ का कृषकहरुसँग देवचुली नगरपालिका पशु सेवा शाखाले कार्यक्रम राखेको हो। भेटेरीनरी क्लिनिकमा देवचुली नगरपालिका पशु सेवा शाखाका प्रमुख डा.श्यामकृष्ण तिवारी,पशु सेवा शाखाका अधिकृत विजय ढकाल र सत्यनारायण गोइतले कृषकसँग अन्तरक्रियासँगै पशुपन्छीमा भएका समस्या र त्यसको समाधानको बारेमा छलफल गर्नुभएको थियो। उक्त क्लिनिकबाट ११० जना भन्दा बढी कृषकहरुले सेवा लिएका साथै पशुपन्छीमा भएका समस्या अनुसार नि:शुल्क औषधी समेत वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ।

Write your Comment