देवचुली। नवलपुरमा दलित जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशन हुने भएको छ । बैशाख ८ गते शुक्रबार नवलपुरको देवचुली १३ मा रहेको सहारा पार्टी प्यालेसमा अधिवेशन हुने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।
अधिवेशन उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिपार्ली ठकुरीको प्रमुख आतिथ्यता रहने दलित जागरण अभियान नवलपुरका अध्यक्ष भिमबहादुर परियारले बताउनुभयो।जातिय छुवाछुत तथा लैंगिक हिंसा अन्त्य गरौँ, सामाजिक समानता कायम गरौँ भन्ने मुल नाराका साथ नवलपुरमा आयोजना हुने अधिवेशनलाई व्यापक बनाउने गरि तयारी अघि सारेको अध्यक्ष परियारले जानकारी दिनुभयो।
६७ जिल्लामा शाखा रहेको दलित जागरण अभियानको तेस्रो अधिवेशनका लागि प्रत्येक जिल्लाबाट ३/३ जना प्रतिनिधि उपस्थित रहनेछन् । तेस्रो राष्ट्रिय अधिवेशनमा मुख्य वक्ता हरिनन्दन कुनार रन्जन,मेखराज खाती,सरु सुनार,चन्द्रेश्वर दास रहने साथै राष्ट्रिय कलाकार राजु परियार, सुनीतामी परियार, गणेश विश्वकर्मा कृष्ण गैरे लगायतको प्रस्तुती रहने जनाइएको छ ।अभियानको पहिलो र दोस्रो अधिवेशन पोखरा र सर्लाहीमा भएको थियो ।
पत्रकार सम्मेलनको सहजीकरण दलित जागरण अभियान नवलपुरका लेखा संयोजक कृष्णबहादुर बिकले गर्नुभएको थियो । साथै अभियानका संरक्षक ददिराम परियारले अधिवेशनको तयारीको बारेमा जानकारी दिनुभएको थियो।