आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा चासो

    प्रकाशित २०७९ चैत्र २५, शनिबार (१ साल अघि)


नवलपुर । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य वन्न सक्ने अकला गुफाको संरक्षण चासो दिइएको छ ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिका-२, डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकेलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ ।

पर्यटनको सम्भावना बाकेको अकला गुफाको संरक्षण नहुँदा यसै ओझेलमा परेको थियो । हाल समितिको पहलमा अकला मन्दिर देखि अकला गुफा सम्म जाने करिब एक सय ५० मिटर लम्बाइको बाटो निर्माण गरिएको समितिका अध्यक्ष टङ्क पुलामीले बताउनुभयो । गुफासम्म पुग्ने बाटोनै हराउँदै जाँदा मन्दिरमा आएका पर्यटक सहज रुपमा गुफा सम्म जान सकिरहेका थिएनन् । यसले गर्दा अकला गुफा ओझेलमा पर्दै आएकोमा अहिले बौदीकाली गाउँपालिकाको सहयोगमा बाटो निर्माणको काम गरिएको अध्यक्ष पुलामीले बताउनुभयो ।

पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब एक सय मिटर लम्बाइको रहेको छ । सय मिटर लम्बाइको यस अकला गुफा सहजै रुपमा वार पार गर्न सकिन्छ । गुफाको एक भागबाट अर्को भागमा निस्किँदा धेरै जसो स्थानमा उठेरै पार गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोण महत्वपूर्ण स्थान भएपनि संरक्षणको अभावमा ओझेलमा पर्दै आएकाले हाल गुफाको संरक्षणको अभियान सुरु गरिएको अध्यक्ष पुलामीले बताउनुभयो । ‘यहाँ रहेको अकला मन्दिर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । तर नजिकै रहेको गुफामा सहज रुपमा पहुँचमार्ग नहुँदा ओझेलमा परिरहेको थियो, यसको संरक्षण र प्रचारप्रसार पनि कम हुँदा त्यति मान्छे आउँथेनन्’ अध्यक्ष पुलामीले भन्नुभयो ‘ हामी अहिले मन्दिरसँगै गुफाको समेत संरक्षण र प्रर्वद्धनमा लागेका छौं।’

गुफा भित्र प्रवेश गर्दा अनेकौँ कलात्मक आकृति देख्न सकिन्छ । चमेराको बथान सहित गुफाको भित्री भागको भित्तामा कलात्मक आकृतिहरूले अकला गुफाको आकर्षण बढाएको छ । तर यसको संरक्षण हुन सकेको थिएन । अहिले बाटो निर्माण सहित गुफामा वत्ति जडानको काम समेत गरिएको समितिका अध्यक्ष पुलामीले बताउनुभयो । गुफामा पौराणिककालमा ऋषिमुनीहरूले तपस्या गरेको कथन रहेको छ । तर यसको आवश्यक खोज र अनुसन्धान भने हुन सकेको छैन् । यसको खोज तथा अनुसन्धान हुन समेत आवश्यक रहेको समितिका अध्यक्ष पुलामीले भन्नुभयो ।

अकला गुफासँगै अहिले यहाँ रहेको अकलादेवी मन्दिरमा समेत रङरोगन , गेट निर्माण ,वत्ती जडान लगायतका विविध कामहरु गरिएको अध्यक्ष पुलामीले बताउनुभयो । मन्दिर नजिकै पार्क निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । अकलादेवी मन्दिर दर्शनका लागि दैनिक जसो जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो ।

अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न सकिने सम्भावना रहेको छ । अकेलादेवी मन्दिर सम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अकला गुफा सम्म पुर्याउन सकेमात्र पनि गुफाको महत्व बढ्ने बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । अकला गुफाको संरक्षणका लागि पालिकाबाट आवश्यक कामहरू गरिने अध्यक्ष ओझाले बताउनुभयो । अकला मन्दिर र अकला गुफा पालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल भएकाले यसको संरक्षण र प्रर्वद्धनमा पालिका सधैँ लागिपर्ने उहाँले बताउनुभयो ।रासस

Write your Comment