दयाराम आचार्य,देवचुली ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले पशुको आहाराका लागि साइलेज उद्योग स्थापना गर्ने भएको छ । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरि सहुलियत रुपमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज उद्योग स्थापना गर्न लागेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
नगरपालिकाले आज एक कार्यक्रमका बिच साइलेज उद्योगको शिलान्यास गरेको छ ।चाँडै उद्योग स्थापना गरि पशुको आहारा उत्पादन गरिने नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिका भित्र पशुपालन गर्ने किसान धेरै रहेको र दाना तथा आहारामा लागत धेरै लाग्दा किसानले भने अनुसारको मुनाफा गर्न नसकेका कारण उत्पादनमा हुने लागत घटाउन यो योजना अघि सारिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । पालिकाले उद्योग स्थापना गरि साइलेज तयार पार्ने र सहुलियत दरमा किसानलाई बिक्री गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । ‘अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा ,उत्पादन लागत बढेको छ, किसानहरूले उचित नाफा लिन सकेका छैनन् , उत्पादन लागत घटाउँदै, किसानको मुनाफा बढाउन उद्योग स्थापना गर्न लागेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘उद्योग स्थापना पछि पशुपालक किसानलाई सहयोग पुग्ने छ ।’
उत्पादन लागत बढ्नु, बजारिकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशुपालनमा लाग्ने किसान पलायन हुन क्रम बढेकाले यो पेशालाई कसरी जोगाउने भन्ने विषय चुनौती बनेकाले पालिकाले किसानलाई राहत होस भनेर साइलेज उद्योग स्थापना गर्न लागेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । उद्योग स्थापनाका लागि पालिकाले योजना बनाएको भएपनि यसको दिगो सञ्चालनका लागि सबै किसानको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । किसानको माग र आवश्यकता अनुसार उद्योग स्थापना गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।‘किसानले अहिले पनि बिभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब हामी स्थानीय स्तरमै उत्पादन गर्छौँ ,यसले यहाँका किसानलाई लाभ मिल्ने छ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।
पालिका आफैले पशु आहारा उत्पादन गरि किसानलाई सहुलियत रुपमा प्रदान गर्ने यो कार्यक्रम देशभरिका पालिका मध्य देवचुलीमा पहिलो भएको नगर प्रमुख न्यौपाने बताउनुभयो । उद्योग सञ्चालनको पहिलो वर्ष किसानलाई निशुल्क मल र मकैको बिउ उपलब्ध गराइने समेत उहाँले बताउनुभयो । यसले कच्चा पदार्थ उत्पादन गर्ने किसान बढ्ने र उत्पादित कच्चा पदार्थ किसानबाट खरिद गरि पशु आहारा तयारी पारिने नगर प्रमुख न्यौपानेले बताउनुभयो । यो योजनाले पालिका भित्रका बाँझो जमिनको समेत सदुपयोग हुने, रोजगारीका अवसरहरू सिर्जना हुने र पशुपालक किसानलाई समेत लाभ पुग्ने उहाँले बताउनुभयो ।
साइलेज उद्योग शिलान्यास कार्यक्रममा बोल्दै नगर उप प्रमुख पार्वता तिवारीले पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि उद्योग स्थापना गर्न लागिएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको नवप्रर्वद्धन कार्यक्रम मार्फत किसानका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ यो योजना अघि बढाइएको उहाँले बताउनुभयो । देवचुली नगरपालिका भित्रका पशुपालक किसानले बाहिरबाट महंगो मूल्यमा पराल खरिद गर्नुपर्ने अवस्था रहेकोले , पशुपालन गर्न नै चुनौती रहेकाले यसको निकाकरणका लागि साइलेज उद्योग स्थापना गर्न लागिएको नगर उप प्रमुख तिवारीले बताउनुभयो ।
नगरपालिका र गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवद्धन कार्यक्रमको साझेदारीमा पालिकाको रु।६४ लाख र प्रदेश सरकारको रु। १ करोड ५० लाख गरि कुल २ करोड १४ लाखको लागतमा साइलेज उद्योग स्थापना गर्न लागिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो । विनियोजित बजेटबाट आवश्यक उपकरण खरिद, उद्योग रहने भवन, उत्पादित दाता राख्ने भण्डार गृह निर्माण सहित किसानहरुलाई तालिम तथा निशुल्क मल ,बिउ उपलब्ध गराइने प्रमुख प्रशासकिय अधिकृत मरासिनीले बताउनुभयो ।
शिलान्याश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष राजन गौतम, नेपाली कांगे्रसका नगर सभापति भोजन्द्र रायमाझी लगायतले बोल्दै साइलेज उद्योग स्थापना गर्नु किसानका लागि लाभदायक योजना भएको बताएका थिए । किसानका विविध समस्या रहेको भएता पनि केहि हदसम्म यस उद्योग संचालन हुँदा किसानलाई राहत मिल्ने वक्ताहरुले बताएका थिए । यस बाहेक मल बिउको समयमानै उपलब्धता , अनुदानको व्यवस्था थप गर्दै जानुपर्ने वक्ताहरुले बताएका थिए । उद्योग सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै किसानको हित हुने विषयमा राजनितिक दलको सहयोग रहेन समेत उनीहरुले बताएका थिए ।
आजै साइलेज उद्योगको शिलान्याससँगै पशु स्वास्थ्य प्रयोगशाला र माटो जाँच प्रयोगशालाको समेत नगर प्रमुख न्यौपानेले उद्धघाटन गर्नुभएको छ । पशु स्वास्थ्य प्रयोगशालाबाट गोबर परिक्षण, थुनेलो परिक्षण, पिसाब परिक्षण, व्याक्टेरिया कल्चर सेवा, स्किन स्केपिङ टेस्ट र माटो परिक्षण प्रयोगशालाबाट माटोको पिएच, नाइट्रोजन , फस्फोरस, पोटासीयम , वालीहरुको रोग तथा किराहरुको पहिचान र निदान लगायतका सेवा उपलब्ध हुने देवचुली नगरपालिका कृषि शाखाका नरेन्द्र भण्डारीले बताउनुभयो ।