पोखरा । बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर भई कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुग्ने ठहरसहित उनलाई सफाई दिएको हो । उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले पनि पललाई सफाइ मिलेको जानकारी दिए।
यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।
उच्च अदालतले सफाइ दिएको पत्र नवलपुर जिल्ला अदालतलाई पठाउनेछ। त्यसपछि जिल्ला अदालतले कारागारलाई पत्र लेखेपछि उनी जेलमुक्त हुनेछन्।पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।