नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी सूचनामा गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन आग्रह गरिएको हो । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको सूचनामा जनाइएको छ ।
प्राप्त सूचनामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार निर्वाचन पश्चात फिर्ता हुने उल्लेख छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो ।