अर्मान मिया ।
हामी चन्द्रमा छुने कुरा गरिरहेका छौ तर त्यहि चन्द्रमा छुनका लागि अध्ययन गर्न लेख्ने कापीको मुल्यले भने चन्द्रमा मात्र होइन अहिले त सारा ग्रहहरु छोइसके , यहि दरमा कापीको मुल्य वृद्धि हुदै जाने हो भने अबको १० वर्षपछि सुर्यलाइ छुने छ । नेपालमा प्राचीन कालदेखिका लिखित दस्तावेजहरु देख्न सक्छौँ । ढुङ्गामा कुदेर , ताम्रपत्रमा कपडामा लेख्ने संस्कृतिको विकास हुदै नेपाली कागजमा लेख्ने र अहिले आएर कापीमा लेख्ने क्रमको विकास हुँदै आएको छ । यसरी लेख्ने संस्कृतिको विकास त भएको छ तर अहिले त सुनपत्रमा लेखेको भन्दा पनि महंगो कापीका पान्ना बन्न थालेका छन् । यसरी नै मुल्य वृद्धि हुदै जाने हो भने अबको केही समयमा लेख्ने संस्कृतिको नै समाप्ति नहोला भन्न सकिदैन । विज्ञान र प्रविधिको प्रयोग बढेसँगै सफ्टकपिमा हाम्रा लेखाइहरु सिमित हुदै जान थाल्ने छन । सबैका हातहातमा मोबाईल, ट्याबलेट र पर्सनल कम्प्यूटर देख्न सक्दछौँ जसले गर्दा केहि समयपछि लेख्ने संस्कृति नै लोप हुन सक्दछ । हस्तलिखित भन्दा पनि सफ्टकपिमा हामीले हाम्रा लेखाइहरु सिमित गर्ने भन्ने अवस्था नआउला भन्न सकिदैन ।
१० वर्ष पहिले १० रुपैँयामा २० वटा पेज हुने गरि किन्न पाइने कापीहरु अहिले २० रुपैँयामा १० वटा पेजमा मात्र पाउन सकिन्छ । ५ वर्ष अघि सम्म १० रुपैँया को १० पेज आउथ्यो तर अहिले १० रुपैँया मुल्य बराबरका कापी समेत बजारमा आउदैन । यसरी नै अघि बढ्दै जाने हो भने अबको १० वर्षपछि ४० रुपैँयामा १० पेज मात्र आउने छ । अबको केही समयमा त २० रुपैंया दरको कापी पनि पाइदैन कसैले अर्डर गरेको खण्डमा मात्र बनाइनेछ । जसको प्रमुख कारण भनेको २० देखि ७० रुपैंया सम्म पर्ने कापीको गाताको मुल्य एउटै पर्ने हुदाँ सानो रकमको कापी नबनाउने गरेको देखिन्छ । अहिले नेपालमा पाइने सबै खालका कागजहरु भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यसरी हाम्रो देशको पैसा विदेशी रहेको छ भने हाम्रा देशका कच्चा पदार्थहरु बर्षेनि कुहिएर वा डढेलोले खाइरहेको छ । हामी विकास गर्ने समृद्ध देश निर्माण गर्ने भनेर हिडिरहदाँ सुन्दर भविष्य लेख्ने कागज नै विदेशबाट आयात गर्नुपर्ने बढो दुर्भाग्यमा बाध्यतामा फसेका छौँ । हाम्रो देशमा भएका कच्चा पदार्थबाट नै हामी विश्व गुणस्तरको कागज उत्पादन गर्न सक्दछौँ र विश्व बजारमा बेच्न सक्दछौँ । जसका लागी सरकारले उचित कदम चाल्न जरुरी छ ।
नेपालमा दिन प्रतिदिन कागज अर्थात कापीको मुल्य वृद्धि हुनुको प्रमुख कारण भनेको नै नेपालमा कागज उत्पादन नभइ भारतबाट आयात गर्नुपर्ने बाध्यताले गर्दा हो । नेपालमा नै कागज उत्पादन गर्ने र आत्मनिर्भर बन्ने उदेश्य अनुरुप करिब ८० प्रतिशत बजार धान्ने गरि सञ्चालनमा आएको भृकुटी कागज कारखाना अहिले जिर्ण अवस्थामा छ । जसको हामी नवलपुरको गैँडाकोटमा भग्नावशेष मात्र देख्न सक्दछौ । चिन सरकारले अनुदानमा निर्माण गरिदिएको यो कारखाना २०३९ सालमा निर्माण सुरु गरि २०४३ साल देखि सञ्चालनमा आएको थियो । दैनिक १३ टन कागज उत्पादन गर्न सक्ने क्षमताका साथ स्थापना भएको कारखाना ५६ बिगाहमा फैलिएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसको सरकारले २०४८ सालमा निजिकरणको सिद्धान्त अनुरुप भृकुटी कागज कारखाना गोल्छा अर्गनाइजेसन , काभ्रा समुह र कन्क्राफ्टलाइ जिम्मा लगायो । जसको फलस्वरुप २०६७ सालमा यो कारखाना पुर्ण रुपमा बन्द भयो । हाम्रा वरपर भएको कांस , बावियो र बगासद्धारा कागज उत्पादन गर्न सक्ने यस कारखानाबाट उत्पादन भएको कागज उच्च गुणस्तरीय भएका कारण जापानमा समेत पैसा छाप्नका लागि निर्यात गरिन्थ्यो । यसरी यति ठुलो कागज कारखाना कौडिको भाउमा नेपाली कांग्रेसले निजिकरणको नाममा व्यक्तिका कम्पनिलाइ सुम्पिदा हामी नेपाली अब कागज किन्न समेत नसक्ने अवस्थामा पुगेका छौ ।
कापीको मुल्य वृद्धि हुने पहिलो कारण भनेको भारत र चिनको मुद्रा बढ्दो क्रममा र हाम्रो देशको मुद्रा घट्दो क्रममा बढिरहेका कारण पनि कागजको मुल्यमा वृद्धि भइरहेको छ । कागज आयातमा विचौलियाहरु बढि भएको कारण कापीको मुल्य वृद्धि हुने दोस्रो कारण हो । यसरी भइरहेको मुल्य वृद्धि रोक्नका लागी सरकारले पुनः एकपटक भृकुटी कागज कारखानालाइ सञ्चालनमा ल्याउने वातावरण मिलाउन जरुरी छ । देश भित्र नै लगानी गर्ने वातावरणको सिर्जना गर्ने र कापीको मुल्यमा भएको मुल्य वृद्धि घटाउनका लागी सरकारले कागजमा कर मिनाह गर्ने वा कमभन्दा कम दरमा कर लगाउने गर्नुपर्दछ । विद्यार्थीहरुले पनि कापीको बचत गर्ने र लेख्ने बानीको विकास गर्नुपर्दछ भने कागजको पुनः प्रयोगमा जोड दिनुपर्दछ । पुनःप्रयोगमा ल्याइएको कापीको रङ अलिक नराम्रो हुने गर्दछ मधुरो खालका पान्ना भएका कापीहरु भनेको पुनः प्रयोगमा ल्याइएको कापी हो । हामीले आयात घटाउनका लागी र कापीको मुल्यवृद्धि केही हदसम्म भएपनि रोक्नका लागी जतनका साथ कापीका पान्नाहरुको प्रयोग गर्ने अनि कापीको बढि भन्दा बढि प्रयोग गर्ने गर्नुपर्दछ ।